लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् ।

मंगलबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका हुन् । उनले राखेको प्रस्तावले दुईतिहाईभन्दा बढी मतले पाएको छ ।

प्रदेशसभामा कायम रहेका ८७ सदस्यमध्ये मुख्यमन्त्री आचार्यले पेस गरेको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । उनको विपक्षमा ११ जनाले मतदान गरे ।

प्रदेशसभामा उपसभामुख मेनुका खाण केसीसहित ४ जना सांसद रहेको राप्रपा मतदानमा तटस्थ रहेको छ ।

८७ सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसद आवश्यक भए पनि कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा आचार्य लुम्बिनीको छैटौं मुख्यमन्त्री बनेका थिए ।

लुम्बिनीमा रहेका ११ दलमध्ये ७ दलका सांसदले आचार्यलाई विश्वासको मत दिएका छन् । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि आचार्यको पक्षमा मत दिएका छन् ।

एमालेका २९, कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३÷३, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका २, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका १ र स्वतन्त्र खड्ग बस्नेत गरी ७० जना सांसदले आचार्यको पक्षमा मतदान गरेका छन् ।

मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका ९, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ गरी ११ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

Published : Tuesday, 2024 August 20, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया