सीएसओ जापानका सदस्यहरूद्वारा जीवन र शिक्षाको अवस्था मूल्याङ्कन गर्न पर्सा र बाराको भ्रमण
काठमाडौं । बाल सहयोग संगठन (सीएसओ)का १४ सदस्यीय टोलीले नेपालको पर्सा र बारा जिल्लाहरूमा दलित समुदायको दैनिक जीवन र शिक्षाको अवस्थाबारे स्थलगत अध्ययन गरेका छन् ।
भ्रमणका क्रममा सीएसओ टोलीले दलित समुदायको कठिन अवस्थामा जीवनयापन गरेको अवलोकन गरेको थियो । धेरै परिवारहरू निकै कठिन अवस्थामा बसोबास गरेको टोलीले भेटेको छ । घरको भित्ता, छाना, उचित शौचालय र असुरक्षित पिउने पानी भएका कारण दलित समुदाय निकै कमजोर घरहरूमा उनीहरू बसेको टोलीले विज्ञप्तिमार्फत जनाएको छ ।
वर्षायाममा प्रायः घरहरू डुबानमा पर्छन्, जसले जनजीवन झनै कष्टकर बनाउने गरेको प्रत्यक्ष देखेको टोलीले स्थलगत अनुगमनपछि देखाएको छ ।
बच्चाहरू चर्को गर्मीमा खाली खुट्टा हिंड्ने, वर्षभरि एउटै लुगा लगाउने, घर तथा विद्यालयमा सामान्य भौतिक पूर्वाधारको पहुँचभन्दा टाढा बालबालिका रहेको विज्ञप्तिमा उल्लेख छ ।
दलित समुदायका युवाहरूले दैनिक मजदुरी गर्दै आएका छन् । उनीहरूले दैनिक ६ किलोसम्म अन्न कमाउने गरेको टोलीले जनाएको छ । जुन उनीहरूको परिवार धान्न पर्याप्त छैन ।
अधिकांश बालबालिका सरकारी विद्यालयमा पढ्छन् । उनीहरूलाई कलम र नोटबुक जस्ता आधारभूत विद्यालयका सामग्रीको अभाव छ ।
यी अवस्थाहरूले सीएसओ सदस्यहरूलाई गहिरो चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ । जसले बच्चाहरूलाई नोटबुक, पेन्सिल र अन्य आपूर्तिहरू वितरण गरेर तुरुन्तै सहयोग गरेका छन् । उनीहरूले पर्सा जिल्लाको बिगा यादव हीरामोती देवी आधारभूत विद्यालयमा बालबालिकासँग ओरिगामी लगायत जापानी कला र शिल्प पनि सिकाएका छन् ।
सदस्यहरूले काभ्रेको जैशीतोक तामाङ गाउँको भ्रमण गरेका छन् । उनीहरू एकरात होमस्टेमा बसेका छन् । बसाइँका क्रममा उनीहरूले तामाङ समुदायको संस्कृति र जीवनशैलीको अवलोकन गरेका छन् ।
सीएसओका सदस्यहरूले संस्कृतिलाई माया गर्छन् । समुदायसँग रहन पाउँदा खुसी भएको उनीहरूले जनाएका छन् । उनीहरूले फेरि गाउँको विद्यालयलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।
सीएसओका अध्यक्ष सुन ताकेनाकाले दलित समुदायको जीवनस्तरमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आगामी दिनमा पनि यस्ता भ्रमणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यी समुदायहरूलाई सहयोग गर्न थप जापानी आगन्तुकहरू ल्याउने बताएका छन् ।
कार्यक्रम आईजीसी बिजनेस होल्डिङ (पी) लिमिटेडको समन्वयमा आयोजना गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया