हामीले बत्ती बालेर बिगार्ने कुरा नगरौँ, बनाउने बिकल्पहरू खोजौँ : कांग्रेस नेता चौधरी

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधान, देश र प्रदेशलाई बचाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै पूर्वमुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता चौधरीले सबै मिलेर संविधान र संघीयता बचाउनुपर्ने बताए । उनले अहिलेको सरकारलाई ठूलो आर्थिक दायित्वको भार रहेको बताएका छन् ।

उनले भने, लुम्बिनी प्रदेश सरकार नेपाली कांग्रेस र एमाले दुई ठूला दल मिलेर झण्डै दुईतिहाइ बहुमतको यो सरकारलाई नेपाली कांग्रेस मुख्य समर्थन रहेको कुरा जानकारी गराउँछु ।’

‘म यो भन्न चाहँदैन । यो सरकार भोलि चन्द्रमामा पुग्छौँ । सबै ताराहरू झार्छौं भनेर भन्न चाहँदैन । म यो भन्न चाहन्छु यो सरकार समस्यै समस्याको चाङमा उभिएर यो सरकार बनेको छ’, नेता चौधरीले भने ।

‘बजेट अहिलेको प्रतिपक्ष दलको नेताको नेतृत्वमा बन्यो । अहिले उहाँले छोड्दै गर्दा दुई अर्ब ५० करोड झण्डै दायित्व बोकेर यो सरकार बनेको छ । त्यहि भएर यो सरकारले तारै झार्छ, हामी सबै गरिहाल्छौँ भन्ने कुरा होइन । हामी यहाँ जति दलहरू छौँ, सबै एकठाउँमा उभिन जरुरी छ’, कांग्रेस संसदीय दलका नेता चौधरीले भनेका छन् ।

‘अहिले ठूला दल मिलेर सरकार बनेका छन् । संविधान कार्यान्वयन गर्नुपर्छ । संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्छ’, उनले भने ।

‘हामी ढेड वर्षमा ३ वटा सरकार परिवर्तन भइसक्यो । हामी कहिले यताको बेन्च, कहिले उताको बेन्चमा मात्रै बस्ने भएको छ’, चौधरीले भने, ‘अबको यो सरकारले स्थायित्व दिन सक्नुपर्छ । अन्तिम बिकल्पको रुपमा यो सरकार आएको छ ।’

कांग्रेस नेता चौधरीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरालाई रचनात्मक प्रतिपक्ष बन्न सुझाव दिएका छन् । बत्ती बालेर सरकारको गल्ती खोज्नु भन्ने महराको अभिव्यक्तिको आलोचना गर्दै विकासमा बत्ती बालेर सहयोग गर्न सुझाव दिए ।

‘प्रतिपक्ष दलको नेताले भन्नुभयो– गल्ती मैले बत्ती बालेर खोज्छु । म उहाँलाई अनुरोध गर्न चाहन्छु । बनाउने कुरा बत्ती बालेर खोज्नुहोस्’, चौधरीले भने, ‘बनाउने कुरातिर अगाडि बढ्नुहोस् । बिगार्ने कुरातिर मात्रै प्रतिपक्षको जिम्मेवारी हुँदैन ।’

चौधरीले भने, ‘तपाई पनि मुख्यमन्त्री बनिसक्नुभयो । म पनि मुख्यमन्त्री बनिसके । अब यो प्रदेशलाई कसरी बनाउने ? यो सरकारलाई कसरी अगाडि बढाउने ? तपाई हामी चाहे यता बसौँ, चाहे उता बसौं ।’

‘हामी एउटै ढुङ्गामा छौँ । डुब्यौँ भने हामी सबै डुब्छौँ । प्रदेश डुब्यो भनेर हामी सबै डुब्छौँ । हामीले बनाउने कुरातिर कुरा गरौं’, उनले भनेका छन् ।

‘हामीले बत्ती बालेर बिगार्ने कुरा नगरौँ । के के कुरामा बनाउन सकिन्छ ? त्यो कुरातिर जाऔँ । हामी घाटै घाटामा छौँ । करको दायरमा फराकिलो बनाऔँ । बिगार्ने ठूलो कुरा होइन । प्रदेशलाई बनाउने बिकल्पहरू के के छन् ? त्यसमा छलफल गरौँ’, उनले भने ।

‘अहिले संविधान संकटमा छ, प्रदेश शंकटमा छ, देश शंकटमा छ । देश शंकटमा भएका बेला आर्थिक क्राइसिस बढेको छ’, उनले भने, ‘देशकै स्थिति राम्रो छैन । सकेसम्म धेरै कुरा सहमतिमा गरौँ । सहमतिमा अगाडि बढाऔँ ।’

चौधरीले भने, ‘सहमतिका साथ अगाडि बढाउन सकेनौँ भने ढुङ्गा डुब्छ । डुङ्गा डुब्दा हामी एउटा बच्छौं र अर्को तैरिन्छौं भन्ने छैन । यो कोठामा बस्ने सबै डुब्छौँ ।’

Published : Wednesday, 2024 August 21, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया