पर्यटनमन्त्री पाण्डेद्वारा प्रत्येक निकायलाई कार्य प्रगति विवरण पेश गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले भने, ‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफोनो गर्नुहोला ।’

मन्त्री पाण्डेले असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला’, मन्त्री पाण्डेले भने ।

‘असोज महिना आउनुअघि नै योजना कार्यान्वयनका लागि के के गर्छौं ? गर्न सक्ने कार्यक्रमहरू के के हुन् ? गर्न नसक्ने काम के के हुन् ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नुहोला’, उनले भने ।

कामको प्राथमिकता निर्धारण गरि सोहीअनुसार अघि बढ्न भन्दै पाण्डेले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्नुपर्ने बताए ।

मन्त्री पाण्डेले गर्नुपर्ने कामको प्राथमिकीकरण, नीतिको सूचीकरण, कानून निर्माणको प्राथमिकताका साथै संरचनागत रुपमा कहाँ कहाँ त्रुटी छ ? त्यसबारेमा संवेदशील भएर अघि बढ्न आग्रह गरेका छन् ।

Published : Wednesday, 2024 August 21, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया