ओखलढुङ्गामा नाकाबन्दी जस्तो भयो, दशैँ अगाडि पहिरे खोलामा बेलिब्रिज बनोस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गामा नाकाबन्दीको अवस्था रहेको भन्दै अविरल वर्षातले क्षति भएका सडकहरू छिटोभन्दा छिटो मर्मत सम्भार गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सदरमुकामदेखि पश्चिमका ५ वटा पालिका जोड्ने पहिरे खोलाको पुलमा बेलिब्रिज निर्माण गर्न माग गरे । उनले दशैँ अगाडि पहिरे खोलामा बेलिब्रिज बनाउन भौतिक पूर्वाधारमन्त्रीले आश्वासन दिएको भन्दै धन्यवाद दिए ।

उनले भने, ‘केही दिन पहिला गएको बाढी र पहिरोले ओखलढुङ्गाको पहिरे खोलाको पहिरोले ठूलो क्षति गरेको छ । ओखलढुङ्गादेखि पश्चिमतिर जाने ५ वटा पालिका मोलुङ गाउँपालिका, सुनकोशी गाउँपालिका, चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिका र खिजीदेम्बा गाउँपालिकाको बाटो, रोड बगाएर आवत जावत बन्द भएको छ ।’

‘भरखरै एउटा पालिकाले त्यहाँ अस्थायी ग्राभेलिङ्गको व्यवस्था गरेर साना गाडी ल्याउने व्यवस्था गरिएको छ’, सांसद खतिवडाले भनेका छन् ।

‘यो पुल २०७८ सालमा नै हामीले संघमा निवेदन दिएर त्यहाँ पुल निर्माण गर्नुपर्छ भनेर आग्रह ग¥यौं । पछि प्रदेशमा यो गयो’, उनले भने, ‘प्रदेशमा गइसकेपछि सबैको पुल बनाउने मुद्दा बन्यो चुनावको बेला । दुई वर्ष भइसक्यो त्यो ३ करोड ५० लाख टेण्डर गरेर बनेको पुल आजसम्म टेण्डर गरिएको पुल बीचमा रकम सुनिश्चितता गरेर क्यान्सिल गरियो ।’

उनले भने, ‘अहिले पुल नभएर बाटो पुहिरो गएर त्यहाँ समस्या आएको हुँदा भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका छौं । त्यहाँ छिटोभन्दा छिटो एउटा बेलिब्रिज निर्माण गरेर आवत जावत व्यवस्थापन गरियोस् ।’

राज्य व्यवस्था समितिका सभापति समेत रहेका सांसद खतिवडाले भने, ‘३ करोड ५० लाखमा टेण्डर भएको पुल बीचमा प्रदेशले रकम सुनिश्चितता नगर्नका कारणले अहिलेसम्म अलपत्र बसेको हुँदा दशैँ अगाडि नै त्यहाँ छिटोभन्दा छिटो पुल व्यवस्थापन गर्न भौतिक पूर्वाधार मन्त्रीलाई आग्रह गर्दा उहाँले म पठाइदिन्छु भन्ने बचन दिएकोले उहाँप्रति म धन्यवाद दिन चाहन्छु ।’

‘वर्षातको समय भएकोले ओखलढुङ्गाका सबै पालिकामा जाने बाटोहरू बन्द भएका छन्’, खतिवाडाले भने,
‘ओखलढुङ्गाको चर्चित चम्पादेवी मन्दिर पहिरो गएर ध्वस्त भएको छ । ती सबै ठाउँमा केन्द्रीय आयोजनाबाट केन्द्रीय सरकारले नै आपतकालीन कोषबाट रकम व्यवस्थापन गरी सबै पालिकामा जाने बाटो बनाउने र त्यो चम्पादेवी मन्दिर निर्माणका लागि आवश्यक रकमको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्दछु ।’

उनले भने, ‘ओखलढुङ्गा जिल्ला अहिले पनि बेलाबेला नाकाबन्दी जस्तो हुन पुगेको छ । कटारीबाट आउने बाटो बन्द हुने । यताबाट जाने, सोखु पुल निर्माण नहुने । खेलाले पुल बगाउँदा तर्न राम्रो नभएको कारणले अहिले पनि नाकाबन्दीको अवस्था सिर्जना भएको हुँदा सम्पूर्ण सदरमुकामदेखि सबै पालिकामा जाने बाटो निर्माण गर्न यथाशीघ्र सरकारसँग अनुरोध गर्दछु ।’

सभापति खतिवडाले भने, ‘राज्य व्यवस्था तथा सुशान समितिमा भ्रष्टाचारसम्बन्धी विधेयकमा व्यापक छलफल भइरहेको छ । सबै सदस्यहरूले संशोधनको प्रस्ताव राख्नुभएको छ ।’

Published : Thursday, 2024 August 22, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया