कांग्रेसको बैठकमा क–कसले बोल्न पाए ? बाँकीले बुधबार बोल्ने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारी र पदाधिकारीहरूले केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राखेका छन् ।
शुक्रबार केन्द्रीय कार्यालय, वीपीनगर, सानेपामा बसेको बैठकमा सह–महामन्त्रीका साथै पूर्वपदाधिकारीहरूले धारणा राखेका हुन् । अधिकांश नेताहरूले पार्टी संगठन र आगामी चुनावमा कांग्रेसका उम्मेदवारहरूको जित सुनिश्चित हुने गरी काम गर्नुपर्नेमा सुझाव दिएका छन् ।
गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, किशोरसिंह राठौर लगायतका केही सीमित नेताहरूले लाभको पद पाउन नसकेकोमा चर्को गुनासो गरेका छन् । उनीहरूले आफूहरूलाई लाभको पद नदिएको भनेर गुनासो गरे ।
गोपालमान श्रेष्ठले समानुपातिक सांसद बन्न नपाएको गुनासो गरे । उनले आफूलाई प्रधानमन्त्री बनाउनका लागि कांग्रेसले सहयोग नगरेको गुनासो गरेका छन् । कांग्रेसमा रहेर सबैभन्दा अवसर पाउने नेतामा श्रेष्ठ पर्छन् । श्रेष्ठले जनजातिको छोरो प्रधानमन्त्री बन्न नपाएको र क्षेत्र, बाहुन मात्रै प्रधानमन्त्री बनेको भनेर गुनासो पनि गरेका थिए ।
विजयकुमार गच्छदारले पनि कांग्रेसले आफूलाई अवसर नदिएको गुनासो गरेका छन् । उनी पनि सबैभन्दा धेरै अवसर पाउने नेतामा पर्छन् ।
किशोरसिंह राठौरले आफूलाई मन्त्री नबनाएकोप्रति ठूलो आक्रोश पोखेका छन् । उनले कांग्रेसमा संस्थापन बन्न ३० वर्ष बिताएको गुनासो गरेको एक नेताले बताए । राठौरले आफू कसैको चाकडी नगर्ने र कसैले चाकडी गरेको पनि मन नपाउने व्यक्ति भएका कारण मन्त्री बन्न नपाएको गुनासो गरेका थिए ।
बैठकमा सह–महामन्त्रीहरू फरमूल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, जीवन परियारले धारणा राखेका छन् ।
केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, अजयकुमार चौरसिया, शंकर भण्डारी, डा.आरजु राणा देउवा, जीतजङ्ग बस्नेत र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले आ–आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बोल्न छुट्टाएको समय अधिकांशले नियमको उल्लंघन गरेर धेरै समय बोलेका थिए । केही नेताहरूले मात्रै नियमलाई मानेर समयभित्र आफ्ना धारणा राखेको स्रोतले जनाएको छ ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौं १२ गते बुधबार दिउँसो ३ बजे पुनः बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया