सहकारी ठगका आरोपी सभापति लामिछाने लुसुक्क परेर बयान दिए, मध्य राति ल्याप्चे लगाए

काठमाडौं । सहकारीको करोडौं रकम ठगका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय छानविन समितिमा लामो बयान दिएका छन् ।

शुक्रबार सिंहदरबारमा संसदीय छानबिन विशेष समितिले लामिछानेसँग बयान लिएको हो । बयान लम्बिएपछि शनिबार बिहान करीव १ बजेसम्म लामिछानेले बयान दिएका हुन् । उनले करीव ५० भन्दा धेरै प्रश्नहरूको जवाफ दिएका छन् ।

सभापति लामिछानेसँग लिखित बयान लिएर दायाँ र बायाँ औँठाको छाप गराइएको छ । निरिह बनेका लामिछानेले समिति समक्ष घुँडा टेकेर बयान दिएका छन् । लुसुक्क परेर लामिछानेले समितिमा बयान दिएका छन् । उनले बयान दिए पनि सहकारीको रकम अपचलन र ठगीबारे अस्वकार गरेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेले सूर्यदर्शन लगायतका सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेको छ ।

गितेन्द्रबाबु राई (जीबी राई) र रवि लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत ग्यालेक्सी फोरके टिभी सञ्चालन गरेका थिए । राई र लामिछानेले सहकारीको करोडौं रकम कानून विपरित गोर्खा मिडियामा ल्याएर अपलचन र ठगी गरेको आरोप छ । लामिछाने पार्टी खोलेर राज्यसत्तामाथि हालीमुहाली गरिरहेका छन् । राई फरार भएका छन् ।

लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका साथै सञ्चालक थिए । लामिछानेले बयानका क्रममा सहकारीको रकम अचलन र ठगीको आरोप अस्वीकार गरेका छन् । लामिछानेले गोर्खा मिडियामा सहकारीको रकम कहाँबाट कति ? कसरी ? जम्मा भयो भन्ने कुरा जीबी राई नै थाहा रहेको भन्दै आफूलाई थाहा नभएको दाबी गरेका छन् ।

पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम गएको देखिाएको छ ।

समिति सभापति सूर्यबहादुर थापाले रवि लामिछानेले आफूमाथि लागेका आरोपहरूबारे प्रष्ट्याउने प्रयास गरेको बताएका छन् ।

पत्रकारहरूसँग थापाले भने, ‘उहाँ (रवि लामिछाने)ले सहकारी र गोरखा मिडियासँग आफ्नो सम्बन्धका बारेमा बताउनुभएको छ । जीबी राईसँगको चिनजानको बारेमा, जीबी राइको व्यवसायीक संलग्नताको बारेमा पनि बताउनुभएको छ ।’

बिभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको नाममा गएको रकमबारे सोधिएको प्रश्नमा पनि लामिछानेले आफूले त्यसको जिम्मेवारी नलिने भनेका छन् ।

समितिले शुक्रबार नै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको छ ।

संसदीय समितिका संयोजक थापाले भने, ‘उहाँ (छविलाल जोशी)ले आफ्नो संलग्नताको स्थिति स्पष्ट गर्नुभएको छ ।’

Published : Saturday, 2024 August 24, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया