तनहुँ बस दुर्घटनामा मृत्यु भएकाहरूको शव भारत पठाइयो
काठमाडौं । तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ ।
भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय वायुसेनाको जहाजमार्फत शनिबार शवहरू भारत पठाइएको हो ।
मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताएका छन् ।
बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ ।
मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर पुगेकी थिइन् ।
मृतक यात्रुको शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याई भरतपुर अस्पतालमा पोस्टमर्टम गरिएको थियो ।
शुक्रबार बिहान पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो । दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये १५ महिला, ११ पुरुष र एकजना चार वर्षीया बालिका रहेकी छन् । घाइते हुनेमा छ पुरुष र १० महिला छन् ।
घाइतेहरूको काठमाडौंमा उपचार भइरहेको छ । मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका हुन् ।
पोखराबाट काठमाडौं आउँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मस्र्याङ्दीमा खसेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया