पर्वहरूले समाजलाई एकताको सूत्रमा बाँधी धार्मिक संहिष्णुता, सद्भाव कायम गरेको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना दिएका छन् ।

सोमबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो ।’

‘यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाड–पर्वहरू छन्’, उनले भने, ‘यी विभिन्न पर्वहरूमध्ये श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व पनि हाम्रा महत्वपूर्ण पर्वहरू हुन् ।’

सभापति देउवाले भने, ‘सबै पर्वहरू हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरू हुन् ।’

‘यी पर्वहरूले हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएका छन्’, उनले भने ।

‘भगवान श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी र विशेष गरी सुदूरपश्चिमा मनाइने गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’, देउवाले भने ।

Published : Monday, 2024 August 26, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया