टुँडीखेलमा साम्प्रदायिकता मच्चाउन खोज्ने समूहद्वारा गौरा पर्वमाथि हमला, अराजक तत्वकाे खाेजी

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी धार्मिक एवम् सामाजिक कार्यक्रममा केही अराजक तत्वले सामाजिक सद्भाव भड्काउने गरेर हर्कत गरेपछि आलोचना भइरहेको छ ।

सोमबार काठमाडौंको टुँडीखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई बिथोल्ने अराजक तत्वले प्रधानमन्त्री ओली र सभापति देउवाविरुद्ध नारावाजी गरेको थियो । मादक पदार्थ सेवन गरेका केही हुलहुज्जत समूहले साम्प्रदायिक सद्भाव भड्काउने गरेर गतिविधि गरेको गौरा पर्व मनाउन उपस्थित भएकाहरूले आरोप लगाएका छन् ।

काठमाडौं प्रहरी परिसर भद्रकालीका प्रहरी प्रमुख (एसएसपी) बसन्त रजौरेले गौरा पर्वको कार्यक्रममा नारावाजी गर्ने समूहमाथि अनुसन्धान भइरहेको बताए । उनले केही व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएको र आफूहरू छानविनमा रहेको बताए । उनले गौरा पर्व मनाउन जम्मा भएकोहरूको कार्यक्रम बिथोल्ने गरेर भएको गतिविधिप्रति काठमाडौं प्रहरी गम्भीर भएको बताए ।

प्रधानमन्त्री ओली र सभापति देउवाले गौरा पर्वको कार्यक्रमलाई सम्बोधन गर्न लागेका बेला साम्प्रदायिक सद्भाव भड्काउन खोज्ने केही अराजक समूहले ओली र देउवाविरुद्ध नारावाजी गरेका थिए । ओली र देउवाले संयम भएर सम्झाउने प्रयास गरेका थिए ।

प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन् । ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको बताए ।

उनले भने, ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरू विभिन्न स्थानमा देखिने गरेका छन् ।’

‘अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन’, प्रधानमन्त्री ओलीले भने ।

नेपाल मेलमिलापको देश हो भन्दै ओलीले नेपाली समाज जति भाँड्न खोजे पनि नभाँडिने बताएका छन् । ‘नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन’, प्रधानमन्त्री ओलीले भने ।

गौरा पर्व विथोल्ने गरेर नेताहरूविरुद्ध नाराबाजी गरी अराजकता प्रदर्शन गर्नेहरूलाई सभापति देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

देउवाले लाज छैन भन्दै रिसाएका थिए । ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, भनेर देउवाले प्रश्न गरेका छन् ।

देउवाले गौरापर्व खेल्न र हेर्न आएकाहरूलाई कार्यक्रम बिथोल्नेहरूले असर पारेको सभापति देउवाले बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सुदूरपश्चिम र कर्णालीको संस्कृति गौरापर्व भएको बताए ।

हिन्दुहरूको गौरा पर्वलाई विथोल्न कुनै विदेशी तत्व र केही नयाँ दलका समर्थक,राजावादी र कथित स्वघोषित अभियन्ता वा जड्या समूहले नाराबाजी गरेको हुन सक्ने प्रत्यक्षदर्शीको अनुमान छ ।

कार्यक्रममा ओली, देउवा, एमालेका नेता भीम रावललगायत उपस्थित हुँदा एक समूहले नाराबाजी गरेको थियो ।

Published : Monday, 2024 August 26, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया