माधव नेपालले नरुचाएपछि रामकुमारी झाक्री पराजित
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महिला उपाध्यक्ष पदमा पूर्वमन्त्री समेत रहेकी नेतृ रामकुमारी झाक्री पराजित भएकी छिन् ।
नेतृ झाक्रीलाई जयन्तीदेवी राईले पराजित गरेकी हुन् । राईले १९९ मत ल्याएकी छिन् । झाक्रीको जम्मा ११२ मत आएको छ । राईसँग झाक्री ८७ मतको अन्तरले पराजित भएकी हुन् ।
महाधिवेशन अगाडि पूर्वमन्त्री झाक्री नेकपा (एकीकृत समाजवादी)को सचिवको जिम्मेवारीमा थिइन् । पदाधिकारीका लागि मंगलबार मतदान भएको थियो । मतदानको नतिजाअनुसार नेतृ झाक्री पराजित भएकी हुन् ।
अध्यक्ष माधवकुमार नेपाललाई बेलाबेला असहयोग गर्दै आएकी झाक्रीलाई महिला उपाध्यक्षमा हराएर नेपालले बदला लिएका छन् ।
नेतृ झाक्री केही समय अगाडि नेकपा (एमाले)मा प्रवेश गर्न लागेको चर्चा पनि चलेको थियो । एमालेमा प्रवेश गर्नका लागि उनले एमालेका अध्यक्ष केपी ओलीसँग वार्ता गरेको चर्चा पनि चलेको थियो ।
अध्यक्ष नेपालले नेतृ झाक्रीलाई आफ्नो टिममा राखेका थिएनन् । नेपाल समूहले वितरण गरेको चिटमा झाक्रीको नाम हटाएर राईको नाम राखिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया