गौरीफन्टा नाका स्तरोन्नति र क्रिकेट मैदान बनाइदिन मोदीसँग आग्रह गरेकी छु : डा.आरजु राणा
धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको बताएकी छिन् ।
बुधबार धनगढी उपमहानगरपालिका वडा नं. ४ को वडा कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा.राणाले भारतीय प्रधानमन्त्री मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको धनगढी–गौरीफन्टा नाकाको सतरोन्नति गरिदिन आग्रह गरेको बताइन् । उनले धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाइदिन पन िभारतसँग अनुरोध गरेको बताएकी छिन् ।
उनले भनिन्, ‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु ।’
‘त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिनुभएको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई धनगढी–गौरीफन्टा नाकाको महत्वका बारेमा लेखेर पठाउन निर्देशन दिएको बताएकी छिन् ।
‘नाकाको उपादेयताका बारेमा लेख्न भनेको छु’, उनले भनिन्, ‘यस नाकाले नेपाल र भारतको ब्यापार व्यवसायमा हुने बढोत्तरीका बारेमा पनि लेख्न भनेकी छु । त्यो सबै कुरा भारतलाई लिखितरूपमा बुझाउन भनेको छु ।’
परारापष्ट्रमन्त्री डा.राणाले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि पनि भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको बताएकी छिन् ।
‘मैले भारत भ्रमणका क्रममा फाप्ला क्रिकेट मैदान, महाकाली नदीका विभिन्न स्थानमा पक्की पुल बनाउन पनि कुराकानी गरेको छु’, डा.राणाले भनिन्, ‘त्यसमा भारतीय प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ ।’
बुधबार बिहान धनगढी विमानस्थलममा कार्यकर्ताहरूले डा.राणाको भब्य स्वागत गरेका थिए ।
मोटरसाइकल र कारमा पुगेका कार्यकर्ताहरूले नाराबाजी गर्दै परराष्ट्रमन्त्री डा.राणालाई विमानस्थलबाट निवास उत्तरबेहडीसम्म ¥याली गरेर पुगाएका थिए ।
परराष्ट्रमन्त्री डा.राणाको स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्कालगायतका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति थियो ।
परराष्ट्रमन्त्री डा.राणा धनगढीस्थित आफ्नो घरमा गौरा बिसर्जनका लागि आएकी हुन् । डा.राणाले हरेक वर्ष धनगढीस्थित आफ्नो निवासमा हरेक वर्ष गौरा पर्व मनाउँदै आएकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया