मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न भवन
मुस्ताङ । समुद्री सतहबाट ३ हजार मिटरभन्दा बढी उचाइँमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ ।
मुक्तिनाथ मन्दिर नजिकै ३ करोड ६० लाख ५२ हजार ८८ लागतमा भवन निर्माण गरिएको छ । ५ रोपनी ३ आना क्षेत्रफल जग्गामा ३ तलाको ब्यारेक भवन, भान्छा कोठा र शौचालय निर्माण गरिएको छ ।
यसअघि, रानीपौवाको पुरानो धर्मशालाका चार कोठाबाट कार्यालय सञ्चालन भइरहेको थियो ।
रानीपौवा क्षेत्रको सुरक्षालाई ध्यान दिँदै अब नयाँ भवनबाटै कार्यालय सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताएका छन् ।
मुक्तिनाथमा प्रहरी निरीक्षकको नेतृत्वमा १३ प्रहरी कार्यरत छन् ।
भवनको भुइँ तलामा कार्यालय प्रयोजनका लागि पाँच वटा कोठा निर्माण गरिएका छन् । पहिलो तलामा महिला र पुरुष कर्मचारीका लागि छुट्टाछुट्टै ब्यारेक छ ।
भुइँ तलामा शौचालय सुविधासहितको पुरुष र महिला हिरासत कक्षहरू छन् । माथिल्लो तलामा कार्यालय प्रमुखको आवास, सञ्चार शाखाको कार्यालय र ब्यारेकसहितका कोठाहरू छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया