संविधानलाई अझै समावेशी बनाउन संशोधन आवश्यक छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा केही कुरा संशोधन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र हो । मल्टिपार्टीसहितको डेमोक्रेशी हो । यसलाई हामीले स्थायी रुपमा स्थापना गर्न सक्नुपर्छ ।’

उनले भने, ‘कति कुराहरू यो संविधानमा संशोधन हुन सक्ने अवस्था आउँदैछ । कति कुराहरू आवश्यक पर्‍यो भनेदेखि सबैलाई ठाउँ हुने गरी संशोधन हुन सक्छ ।’

‘अहिले धेरै राम्रो र महत्वपूर्ण कामहरू भएको छ । यो संविधान समावेशी छ’, देउवाले भने, ‘समानुपातिकका सम्बन्धमा अझै केही कुराहरू समेट्नु पर्नेछ ।’

देउवाले भने, ‘समावेशीसहितको संविधान छ । कति मान्छे चुनावबाट ल्याउन धेरै गाह्रो छ । उहाँहरूलाई समावेशी गर्नुछ ।’

‘उहाँहरूलाई राज्य सत्तामा समावेश गराउनुपर्छ भन्ने धारणा छ । त्यसको आधारमा प्रजातन्त्रसहितको समावेशी सहितको महत्वको कुरा छ’, देउवाले भने, ‘यसलाई अझ राम्रोसँग अध्ययन गरेर अझ राम्रो बनाउन सकिन्छ ।’

सभापति देउवाले भने, ‘संविधान संशोधन हुन सक्ने अवस्था हो । यसमा फन्डामेन्टल कुरा के छ भने ? मौलिक कुराहरू परिवर्तन हुन सक्दैन । संशोधन हुन सक्ने कुराहरूमा संशोधन गर्नुपर्छ ।’

‘संशोधनका लागि समानुपातिक, समावेशिताका कुराहरू छन् । यी सबैलाई राखेर एउटा सबैको संविधान बनाउनु छ । सबैलाई समेटेको संविधान छ’, उनले भने ।

सभापति देउवाले शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न टीआरसी विधेयक सर्वसम्मतिले पारित भएको बताएका छन् ।

उनले भने, ‘टीआरसीलाई संसदबाट सर्वसम्मतिबाट पास गरेका छौँ । राष्ट्रपतिजीबाट पनि जारी भएको छ । पुरानो द्वन्द्व छ । द्वन्द्वमा काटमार थियो ।’

‘यो विधेयकले सबै कुराहरू अन्त्य हुनेछ । नेपाल अब विकासको काममा अगाडि बढ्नेछ भन्ने विश्वास छ’, देउवाले भने ।

सभापति देउवाले तत्कालीन समयमा बाबुराम भट्टराईले ४० बुँदे माग राखेर दिल्ली जानेवित्तिकै आक्रमणमा उत्रिएको बताए ।

उनले भने, ‘बाबुरामजीले त्यो बेला ४० बुँदे पत्र दिनुभएको थियो । उहाँले दिँदा उहाँलाई मैले भेट्ने पनि कुरा गरेको थिएँ । भेट्ने भनेर मेरो साथीलाई जिम्मा पनि दिएको थिएँ । आचार्यजीलाई कुरा गर्ने भनेर । तर, उहाँले कुरा नगरेर उतैबाट गइदिनु भएछ । उहाँहरूले पहिला हान्नुभयो । पहिला उहाँहरू दिल्ली पुगेपछि हान्नु भएको रहेछ । अहिले उहाँलाई केही भन्ने कुरा छैन । त्यो बेला धेरै त्राही पनि भयो ।’

देउवाले भने, ‘लडाइँमा जित्ने कुरा पनि थिएन । हार्ने कुरा पनि थिएन । त्यस कारण उहाँहरू पनि वार्तामा आउनुभयो । वार्ताबाट धेरै कुराहरू पनि समाधान भयो ।’

‘त्यति मात्रै होइन बास्तवमा यहाँ राजासँग लडाइ परेको छ हाम्रो । हामीलाई झण्डै मारिसकेको थियो । जेल हालिसकेको थियो बास्तवमा भन्ने हो भने । शाही आयोग गठन गरेर दुःख दिएको थियो । सबैलाई दुःख दिइसकेपछि ।’

‘यो अति भयो । राजालाई ठीक ठाउँमा राख्नुपर्छ भनेर हामीले गणतन्त्रमा जाने बाटोमा हामी आयौँ । त्यसमा माओवादी पनि आउनुभयो । त्यो बेला राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको सहयोग भएर हामीले नेपालमा गणतन्त्र ल्याएका छौं’, देउवाले भने ।

सभापति देउवाले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको डेमोक्रेसी नै हो । मानवअधिकार हो सबैभन्दा महत्वपूर्ण कुरा । डर त्रासमुक्त समाज गराउने हो । विभिन्न मुलुकको तुलनामा राम्रो मुलुक बनाउने हो ।’

Published : Friday, 2024 August 30, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया