आईजीपीद्वारा प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामनासहित विदाइ गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई विदाइ गरेका हुन् । टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् ।

आईजीपी कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको बताए । उनले देशको खेलकुद विकासमा नेपाल प्रहरीले पु¥याएको योगदान उल्लखनीय रहेको बताएका छन् ।

नेपाल प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धीहरूले नेपाल प्रहरीमा सशक्त र क्षमतावान् महिला खेलाडीहरू रहँदै आएका छन् भन्ने कुरालाई समेत पुष्टि गरेको र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टी गर्न थप अवसर प्रदान गर्ने कुँवरले बताए ।

आईजीपी कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना दिएका छन् ।

Published : Sunday, 2024 September 8, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया