खेलाडीहरू राष्ट्रका गहना हुन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा लिनुपर्ने बताएका छन् ।

आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्दै देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको बताए ।

उनले खेलाडीहरूको सम्मान गर्न सक्नुपर्ने बताएका छन् । देउवाले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको बताएका छन् ।

खेलकुद र खेलाडीका लागि कांग्रेसले आगामी दिनमा अझ बढी पहलकदमी लिने देउवाले बताएका छन् ।

नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कास्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै देउवाले पलेशाको प्रशंसा गरेका छन् ।

देउवाले भने, ‘पलेशा गोवर्धनजी जो हुनुहुन्छ, उहाँले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कास्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडीहरूले अझ बढी सफलता प्राप्त गरुन् भन्ने हार्दिक कामना गर्दछु ।’

उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । खेलाडीहरू राष्ट्रका गहना हुन् ।’

‘नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्छ’, सभापति देउवाले भने ।

कास्यपदक विजेता पलेशालाई कांग्रेस सभापति देउवाले नगद ५ लाख रुपियाँसहित सम्मान गरेका छन् ।

देउवाले अर्का सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार र प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार रुपियाँसहित सम्मान गरेका छन् ।

Published : Sunday, 2024 September 8, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया