युरोप पठाउँछु भनेर धेरै मानिसहरूलाई ठगी गरेका हास्य कलाकार ईकु पक्राउ
काठमाडौं । कलाकार भिषामा युरोप पठाउँछु भनि विभिन्न व्यक्तिसंग रकम ठगी गर्ने ललितपुरका हास्य कलाकार ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुलेमान शंकरलाई भदौ २५ गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ३, हात्तिगौडाबाट पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सुलेमान शंकर ललितपुर उपमहानगरपालिका वडा नं.२४, धपाखेल स्थायी वतन भई हाल काठमाडौंको धुम्बाराहीमा बस्दै आएका थिए ।
सुलेमान शंकरले विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी ठगी गरेको अभियोग लागेको छ ।
सुलेमान शंकरले विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत सोही अनुरुप आकर्षक हुने प्रलोभन देखाई ठगी गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
सुलेमान शंकर आफैले सञ्चालन गरीरहेको एसएमएस प्रा.लि.को नाममा ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
विदेश जान तयार मानिसहरूले खातामा रकम जम्मा गरिसकेपछि रकम जम्मा गर्ने व्यक्तिहरूले कलाकार भिषामा विदेशी मुलुकमा भिषा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने, रकम जम्मा गर्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
पीडितहरूले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भनेर उनले ठगी गर्ने गरेका थिए । सुलेमान शंकरले तयारी भएपछि खबर गर्छु भनी पीडितहरूलाई लामो समयसम्म झुलाई अन्त्यमा पीडितहरूको सम्पर्कबाट बाहिर रही ठगी गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
सीआईबीले सुलेमान शंकरबाट ठगी भएर पीडित भएकाहरूलाई यथाशीघ्र व्यूरोमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया