श्रीमतीको हत्या अभियोगमा एकजना पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा बाराबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियोगमा निजगढ नगरपालिका–९ भमरा टोल बस्ने ४५ वर्षीय विमलकुमार बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विमलले घरायसी विवादको क्रममा खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको सामुदायिक प्रसुति गृह अस्पताल निजगढमा उपचारका लागि लगिएको थियो ।

उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको छ । हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झगडा छुट्याउने क्रममा घाइते भएकी उनकै छोरी १८ वर्षीया गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महारागञ्ज, काठमाडौं रिफर गरिएको छ ।

उनकै छोरी १५ वर्षीया जमुना राईको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ ।

Published : Wednesday, 2024 September 11, 4:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया