तहस नहस भएको विद्यार्थी संगठनलाई लिएर अध्यक्ष लिङ्देनलाई नेताहरुको पत्र
काठमाडौं । कोमामा गएको विद्यार्थी संगठनलाई जागृत गर्न राप्रपानिकट विद्यार्थी नेताहरुले तत्काल नयाँ महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका छन् ।
यसका साथै महाधिवेशनको मिति तोक्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तथा केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गरेका छन् ।
‘विद्यार्थी संगठन तहसनहस हुन लागेको, संगठनमा आवद्ध विद्यार्थी पलायन हुने अवस्था सिर्जना हुन लागेकोमा हामी चिन्तित छौं । त्यसैल नयाँ उर्जासहित संगठनलाई बचाउन हामी एकजुट भएका छौं’, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का पूर्वसंयोजक जयप्रकाश बगालले मागपत्र बुधबार बुझाएपछि भने ।
२०७९ साल फागुन २७ र २८ गते सम्पन्न राष्ट्रिय भेलाले सर्वसम्मतिमा ६ महिनाभित्र महाधिवेशन गर्ने गरी कमल बमलाई संयोजक नियुक्त गरेको थियो । तर, १८ महिना बितिसक्दा पनि महाधिवेशनको गर्ने कुनै काम नभएको भन्ने विद्यार्थी नेताहरुले भनाइ छ ।
‘विद्यार्थी संगठन कुनै विधि विधानमा नचलेको, कुनै माईन्युट तथा दर्ता चलानी नभएको, संगठनको कुनै कार्यालय सञ्चालन सम्बन्धि सामान्य संरचना नभएको र कार्यदिशा समेत स्पष्ट नभएको अवस्था छ । संगठनप्रति सकारात्मक विद्यार्थीहरुले सम्पर्क गर्ने ठाँउ र व्यक्ति नभएको, संगठनमा आवद्ध विद्यार्थीहरु पलायन हुँदै जाने परिस्थिति सिर्जना भएको छ’, मागपत्रमा भनिएको छ ।
विद्यार्थी संगठनका पूर्वसंयोजक बगाले, पूर्वसहसंयोजक एन्टीसंर्घष राई, कोषाध्यक्ष नर्गिस थापा, केन्द्रीय सदस्यहरु लगायत २८ विद्यार्थी नेताहरुले पार्टी अध्यक्षको नाममा पार्टी केन्द्रीय कार्यालयमा मागपत्र दिएका हुन् ।
बम राप्रविसं संयोजक नियुक्त भएदेखि एउटा पनि बैठक नभएको, महाधिवेशन आयोजक समिति समेत गठन हुन नसकेको भन्दै विद्यार्थी संगठनका प्रतिनिधिमण्डलले राप्रपा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।
लिङ्देनले विद्यार्थी नेताहरुलाई समय दिएअनुरुप झापाबाट राजधानी नफर्केकोमा पार्टी सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले पत्र बुझेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया