केही छभने लिखित पेश गर्नुपर्छ, सभामुखको रुलिङ मान्दैन भन्न पाइँदैन : सभापति खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले गरेको रुलिङ मान्दैन भन्न नपाइने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खतिवडाले विगतमा सभामुखले रुलिङ गर्दा कांग्रेसले मानेको बताए । उनले भने, ‘संसदभित्र केही कुरा नमान्ने छन् भने उहाँहरुले लिखित रुपमा पेश गर्नुपर्छ । सभामुखको रुलिङ मान्दैन भन्न पाइँदैन । कतिपय विषयमा हामीले पनि नाराबाजी गर्दागर्दै पनि सभामुखले रुलिङ गरेर सदन चलाएका उदाहरणहरु छन् ।’
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भने, ‘सभामुखको रुलिङमा उहाँहरुलाई चित्त नबुझ्दा प्रोटेस्ट गर्न पाउनुपर्छ । रुलिङ मान्नै पर्छ ।’
सभापति खतिवडाले माओवादीहरु लामो समय सत्तामा बसेर भरखरै सत्ताबाट बिमुख भएको बताउँदै अबेग रहेको बताए ।
उनले भने, ‘माओवादी साथीहरु धेरै वर्ष सत्तामा बसेर बिमुख हुनु भएको छ । उहाँहरुलाई म आलोचना गर्न किन चाहँदैन भने हामी सँगै गठबन्धन भएर आएका पार्टीका साथीहरु हौं । उहाँहरुप्रति माया र सदभाव कायम छ । मुलुक निर्माण गर्दा सधै एकआपसमा झगडा गरेर हुँदैन ।’
माओवादीले प्रतिनिधि सभाको बैठकमा हिंसा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरेर बबाल गरिरहेका बेला कांग्रेसका सांसद खतिवडाले माओवादीलाई सभामुखको रुलिङ मान्न सुझाव दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया