लागूऔषधसहित १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं लगायत विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ सातबिसे बजारबाट लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको टोखा नगरपालिका–३ बानियाँटार हाईट बस्ने २९ वर्षीय पवन नेपाली र ३५ वर्षीय रवि तामाङ रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट सातबिसे र प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले शिखर बेशीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ६३९० नम्बरको बसमा सवार उनीहरूलाई गाँजा सहित पक्राउ गरेको हो ।

सिराहाको औरही गाउँपालिका–१ हनुमान चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४ सय मिलिग्राम, मोबाइल ४ थान र नगद १ लाख १९ हजार रूपियाँसहित सिरहा नगरपालिका–१ बस्ने २७ वर्षीय पंकज यादव समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो गोलबजार र प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले हर्कट्टीबाट भारत लदनियाँ बोर्डरतर्फ जाँदै गरेको बिआर ०६ डिसि ४९९५ नम्बरको जिपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक यादव समेत ३ जनालाई पक्राउ गरेको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँ बस्ने ४० वर्षीय रामबहादुर चौधरी समेत ५ जनालाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय १० मिलिग्राम, मोबाइल ५ थान, डिजिटल तराजु १ थान, कैची १ थान र नगद ७ हजार ५ सय ५० रूपियाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले राम बहादुर चौधरीको घरबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध गाँजा ८ सय ग्रामसहित ललितपुर महानगरपालिका–१४ नख्खिपोट बस्ने ३९ वर्षीय नरेश वनेमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १८०८ नम्बरको बसको डिक्कीमा कागजात नभएको कुरियरको सामान तलासी गर्दा गाँजा फेला पारी बरामद गरेको थियो ।

थप अनुसन्धानको क्रममा उक्त कुरियरको सामान नरेशको रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–८ पाँगास्थित युनिक एण्ड युनिशा मिट पसलबाट लागूऔषध गाँजा १ किलो ४ सय ९४ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० फाईल, नाईट्राभेट १ फाईलसहित पसलका संचालक धादिङको शिद्वलेख गाउँपालिका–३ चालिसे घर भएका ३० वर्षीय विष्णु श्रेष्ठ समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको थियो ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–९ बस्ने २७ वर्षीय नबिन हमाल र कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने २६ वर्षीय मनोज ऐरी रहेका छन् ।

प्रहरी चौकी जमुनी समेतबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Published : Friday, 2024 September 13, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया