गृहजिल्ला प्यूठानमा मन्त्री राणालाई भव्य स्वागत, देवीस्थानदेखि जुम्रीसम्म तरुण दलको स्कर्टिङ (तस्बिर)

जुम्री । नेपाली कांग्रेस प्यूठानले लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणालाई बधाई दिँदै सम्मान गरेको छ ।

सोमबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रममा मन्त्री राणालाई सभापति विष्णु गिरीसहितका नेता कार्यकर्ताहरुले सम्मान गर्दै बधाइ दिएका छन् । लुम्बिनी प्रदेशमा कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका मन्त्री राणा जिल्ला प्रवेश गर्दा तरुण, विद्यार्थी र कांग्रेसका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

उल्लेख्य संख्यामा जम्मा भएका नेता कार्यकर्ताले मन्त्री राणासमक्ष विकासका विभिन्न कार्यक्रमहरुको माग पनि गरेका छन् ।
नेता कार्यकर्ताले प्यूठानले लामो समयपछि कांग्रेसले मन्त्री पाएको र आफैले मतदान गरेर जिताएको जनप्रतिनिधि रोज राणा मन्त्री भएको देख्न पाउँदा खुसी भएको वक्ताहरुले बताए ।

मन्त्री राणालाई स्वागत गर्दै उपसभापति देवेन्द्र बर्माले प्यूठानले ३ दशकपछि मन्त्री पाएको भन्दै आफैले मतदान गरेको व्यक्ति रोज राणालाई पाउँदा प्यूठानका जनता खुसी भएको बताए । प्यूठान नगरपालिकाका उपप्रमुख समेत रहेका बर्माले जनताको अपेक्षालाई मन्त्री राणाबाट पूरा हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

मन्त्री राणाले पनि आफू प्यूठानका मतदाता र जनताप्रति निकै आभारी रहेको बताए । उनले मतदाताले आफूबाट गरेको अपेक्षालाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले आफू मन्त्रालयमा बिहान ११ बजेदेखि ५ बजेसम्म रहने भन्दै कुनै पनि बेला भेट्न आउनेलाई भेटेर समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । उनले भेट्न आउन नसक्नेलाई फोनबाट पनि कुरा राख्न आग्रह गरेका छन् ।

दोस्रो पटक मन्त्री बनेका राणा गृहजिल्ला प्यूठान आउने क्रममा नेपाल तरुण दलले देवीस्थानबाट जुम्रीसम्म गाडी र मोटरसाईकलको स्कर्टिङ गरेको थियो । तरुण दल प्यूठानका अध्यक्ष कृष्णप्रसाद बस्याल ‘रोयल’ले ३० वर्षभन्दा लामो समयपछि प्यूठानले मन्त्री पाएको भन्दै जिल्लामा प्रवेश गर्दा स्वागत र सत्कार गर्ने दायित्व तरुणहरुको भएको बताए ।

बधाई तथा सम्मानका लागि राखिएको कार्यक्रममा मन्त्री राणाले झण्डै दुई सय जनालाई कांग्रेसमा प्रवेश पनि गराएका छन् । एमाले, माओवादी केन्द्र, मसाल लगायतका पार्टी परित्याग गरेकाहरुलाई मन्त्री राणाले कांग्रेसको सदस्यता प्रदान गरेका छन् ।

कार्यक्रममा सभापति गिरीका साथै लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठ, उपसभापति एवम् प्यूठानका उपप्रमुख बर्मा, नेताहरु सुवास केसी, हुकुमबहादुर विष्ट, खिमानसिंह रायमाझी, नेपाल तरुण दलका केन्द्रीय सदस्य सनत श्रेष्ठ र सुनिल बस्नेत, नेपाल तरुण दल प्यूठानका अध्यक्ष कृष्ण बस्याल ‘रोयल’, कांग्रेस नेता एवम् स्वर्गद्वारी यातायात प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2024 September 16, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया