कांग्रेसमा नेताहरु पदका लागि लडिरहेका हुन्छौँ, कार्यकर्ता विधि र नीतिका लागि लडेका हुन्छन् : मन्त्री रोज राणा

जुम्री । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले कार्यकर्तालाई कुनै टिम, कुनै गुटमा विश्वास नरहेको बताएका छन् ।

सोमबार नेपाली कांग्रेसले प्यूठानले जुम्रीमा राखेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले कार्यकर्ताले गुट र समूह नगरेर रुखमा भोट हालेर आफूलाई जिताएको बताए ।

उनले भने, ‘तपाईहरुले कुनै पद पाउँनु हुँदैन । हामी माथि रहेका मान्छेहरु कहिले काहिँ पदका लागि झगडा पनि गर्छौं । हाम्रो झगडामा तपाईहरु नमुछिनु होला । हामीहरु पदका लागि लडिरहेका मान्छेहरुसँग तपाईहरु पार्टीका लागि लडिरहेको मान्छेहरु नमुछिनु होला ।’

मन्त्री राणाले भने, ‘ममा पनि कमीकमजोरी छन् । कमीकमजोरी गरेको हुँला । सभापतिजी हुनुहुन्छ । बसौँ कमीकमजोरीले घाटा भएको छभने म सच्याउन तयार छु ।’

प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले ३१ वर्षपछि जितेको भन्दै कांग्रेसका कार्यकर्ताले छाती खोलेर विकास गर्ने बेला गुटको कुरा नगर्न आग्रह गरे । उनले नेताहरुको लडाइँ पदका लागि हुनेभन्दै कार्यकर्ताको लडाइँ विधि र नीतिका लागि हुने बताए । मन्त्री राणाले केही कुरा छन् भने महाधिवेशनमा कुरा हुने बताए ।

मन्त्री राणाले आफूले एउटा मात्रै बजेट बनाउन पाएमा प्यूठानको मुहार फेर्ने बताए । उनले कार्यकर्ताको मागको सुनुवाई गर्ने बताए । राणाले आफू मन्त्री भएकै बेला मतदाताको घरदैलोमा आउने पनि बताएका छन् ।

उनले रोल्पा, अर्घाखाँची लगायतका जिल्लामा विकासको दृष्टिले प्यूठानभन्दा निकै अगाडि रहेको भन्दै अब प्यूठानको विकासमा फड्को मार्ने बताए ।

कांग्रेसले ३० वर्षभन्दा लामो समय प्यूठानमा विजयी हुन नसक्दा विकासमा पछाडि परेको बताए ।

मन्त्री राणाले प्यूठानमा कांग्रेसले जित हासिल गरेको र मन्त्री पनि पाएको भन्दै विकासले गति लिने बताए । उनले बाग्दुला, बहाने, स्याउलीबाङ सडक आयोजना आफूले राखेको बताए । यो सडक आयोजनालाई कम्युनिस्टका साथीहरुले बाग्दुला, बहाने, स्याउलीबाङ सडक आफूले ल्याएको भनेर झुठ बोलेको बताए । आफू संलग्न मन्त्रिपरिषदले सडक आयोजना राखेको बताए ।

मन्त्री राणाले प्यूठानले मुहान फेर्ने पनि बताएका छन् । उनले बाग्दुलादेखि मच्छीसम्मको बाटो ठूलाबेसी, अर्खासम्मको बतानाउनुपर्ने बताए । उनले बाग्दुला, झिम्रुक गाउँपालिका पहुँच मार्गका लागि ७५ लाख रुपियाँ विनियोजन भएको भन्दै ५ करोड थप गरेर बहुवर्षीय बनाइने बताए । उनले भने, ‘यो बाटो मेरो कार्यकालमा जसरी पनि पिच गरेर छाड्छु ।’

Published : Monday, 2024 September 16, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया