जागिर खानेमात्रै नभई जिम्मेवार भएर विद्यालयको नतिजामा सुधार गर्नुपर्छ : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले उद्योगधन्दाको विकास बिना रोजगारीको अवसर सिर्जना असम्भव भएको बताएका छन् ।

बुधबार हेटौँडामा आयोजित कार्यक्रममा लामाले रोजगारी सिर्जनाको पहिलो शर्त नै उद्योग कलकारखाना स्थापना र सञ्चालन भएको बताए । उनले सरकारी जागिरले मात्र रोजगारी सिर्जना सम्भव नभएको बताए ।

‘रोजगारी सिर्जनाको लागि उद्योग कलकारखाना स्थापना र सञ्चालनको विकल्प छैन’, मुख्यमन्त्री लामाले भने । उनले सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर उद्योगधन्दा स्थापनाका लागि उचित वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

उद्योगी व्यवसायीप्रति हामीमा नकारात्मक धारणा बताउँदै उद्योग कलकारखाना खोल्नेलाई दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्नेमा मुख्यमन्त्री लामाले बताए ।

यसैबीच, मुख्यमन्त्री लामाले सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताए । उनले पछिल्लो समय क्रमिक रूपमा सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताए ।

उनले भने, ‘शिक्षा क्षेत्रलाई राम्रो बनाउन सके मात्रै राम्रो नागरिक उत्पादन हुन्छ, प्रदेश सरकारले प्राथमिकतामा राखेर शिक्षामा लगानी गरेको छ ।’

उनले प्रदेश सरकारले शिक्षा क्षेत्रलाई महत्वका साथ हेरेको बताउँदै बढीभन्दा बढी सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन समुदाय लाग्नुपर्ने बताए ।

मुख्यमन्त्री लामाले शिक्षकले जागिर खानेमात्रै नभई जिम्मेवार भएर जिम्मेवारी निभाए विद्यालयको नतिजामा सुधार हुने बताए ।

लामाले सामुदायिक विद्यालय सुधारमा शिक्षक, अभिभावक, विद्यार्थी सबैको भूमिका उत्तिकै हुने बताउँदै अभिभावकले निजी विद्यालयमा जस्तै आफ्ना बालबच्चालाई विशेष ध्यान दिएर पढ्न पठाउने र स्याहार गरे नतिजा अझैँ सुधार हुने बताए ।

कार्यक्रममा बागमती प्रदेशभित्रका सर्वोत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सम्मानित गरिएको थियो । सामुदायिकतर्फ भक्तपुर नगरपालिको मेधा माध्यमिक विद्यालय, काठमाडौंको बलम्बु माध्यमिक विद्यालय, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय, काठमाडौंको तरूण माध्यमिक विद्यालय र धम राष्ट्रिय माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो ।

संस्थागततर्फ हिज किड्स इन्टरनेसनल स्कुल, रिलायन्स इन्टरनेसनल एकेडेमी, गोकर्णेश्वर लाइट एकेडेमी, शाइरी स्कुल, माउन्ट ग्लोरी ईङ्गलिस बोर्डिङ हाइस्कुललाई सम्मान गरिएको थियो ।

Published : Wednesday, 2024 September 18, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया