सहकारी ठग गोर्खा मिडियाका जोशी पक्राउ, रवि लामिछाने उच्च निगरानीमा

काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई आइतबार शंखमूलबाट पक्राउ गरेको जनाएको छ । जोशी फरार हुन सक्ने आशंका भएपछि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि निगरानीमा राखेको छ । लामिछाने पनि कुनै पनि बेला फरार हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

सहकारी बचत रकम अपचलन प्रकरणमा संसदीय समितिको प्रतिवेदनमा दोषी ठहर भएका जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाउने तयारी भएको बुझिएको छ ।

सहकारीबाट ६५ करोड ५४ लाख ग्लोबल आईएमई बैंकको खाता नम्बर ०४०१०१००००५७७ मा आएको थियो । गितेन्द्रबाबु राई (जीबी), रवि लामिछाने र छविलाल जोशीको नाम, ठेगाना, तीनपुस्ते, फोटो, औंठाछाप र हस्ताक्षरसहित खाता खोलिएको थियो ।

सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपियाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको छ । जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिएको छ ।

४३ करोड ७ लाख ७४ हजार ५३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिएको छ ।

Published : Sunday, 2024 September 22, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया