नेपालको मेडिकल शिक्षा साउथ एशियामा सबैभन्दा राम्रो छ : पूर्व स्वास्थ्यमन्त्री बस्नेत

चौतारा । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा ९२ हजार स्वास्थ्यकर्मी आवश्यक रहेको बताएका छन् ।

आइतबार गृहजिल्ला सिन्धुपाल्चोकको चौतारा अस्पतालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘७५३ वटा पालिकामा अस्पतालहरू छन् । हामीले दरबन्दी दिन सकिरहेका छैनौँ ।’

उनले भने, ‘दरबन्दी सिर्जना गरे पनि आउने पनि को त ? डाक्टर, नर्स जाने मान्छे चाहिन्छ । म्यारामेडिकल पढेको चाहिएला ।’

डाक्टर, नर्स, प्यारामेडिकल पढाइ हुन नेपालमा नदिएको भन्दै पूर्वमन्त्री बस्नेतले चिन्ता जनाएका छन् । उनले भने, ‘नेपालमा विदेशीहरूसँग आर्थिक लाभको लागि नेपालको मेडिकल शिक्षाका बारेमा प्रशस्त गाली गरेर बसेका छन् ।’

‘नेपालको मेडिकल शिक्षा साउथ एशियामा । म इण्डियाको कुरा गर्न चाहन्न । त्यहाँ राम्रा पनि छन् । नराम्रा पनि छन् । त्यो बाहेक साउथ एशियामा सबैभन्दा राम्रो मेडिकल शिक्षा नेपालमा छ’, पूर्वस्वास्थ्यमन्त्री बस्नेतले भने ।

‘हामी बाहिर जान्छौँ । बाहिरका नेपालमा पढ्न पाउँ भनेर निवेदन हाल्छन् । हामीलाई रिक्वेस्ट गर्छन् । हाम्रा भएका कोटाहरू पनि काटिएको छ’, बस्नेतले भने, ‘सबै पार्टीमा एकथरी नेताहरू छन् । नेपालको मेडिकल शिक्षामा यो भएन, उ भएन भनेर कुरा गर्छन् ।’

पूर्वमन्त्री बस्नेतले डा.गोविन्द केसी व्यक्तिगत रुपमा राम्रो भए पनि मेकिल माफियाले प्रयोग गरेर मेडिकल शिक्षाका बारेमा उल्टो काम गराइरहेको बताए । डा.केसीलाई राजनीतिक दलका केही नेताहरूले पनि प्रयोग गरेको बताए ।

यसैबीच, कांग्रेस नेता बस्नेतले चौतारा अस्पतालमा डाइलासिस सेवा शुभारम्भ गरेका छन् । उनले डाइलासिस सेवाका लागि आवश्यक पर्ने उपकरण लगायतमा सहयोग गरेका छन् ।

Published : Sunday, 2024 September 22, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया