नेपाल र भारतका प्रधानन्त्रीबीच भेट, परराष्ट्रमन्त्री डा.राणा पनि सहभागी

न्यूयोर्क । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

स्थानीय समयअनुसार आइतबार अमेरिकाको न्यूयोर्कको लोट्टे प्यालेस होटलमा ओली र मोदीबीच भेटवार्ता भएको परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बताएकी छिन् ।

प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको सञ्चारकर्मीलाई बताएका छन् । परराष्ट्रमन्त्री डा.राणाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिएकी छिन् ।

भेटमा नेपाल–भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् । मोदीले भने, ‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो । भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं । हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन आएका ओली न्यूयोर्कमा छन् । ओली र मोदीबीच होटलमा साइडलाइन वार्ता भएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको भेटवार्ताका लागि कुटनीतिक प्रयास गरेकी थिइन् । डा.राणाको प्रयास र गृहकार्यपछि ओली र मोदीबीच भेटको वातावरण बनेको थियो ।

दुई प्रधानमन्त्रीबीचको भेटमा परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री डा.एस.जयशंकरसहितको उपस्थिति रहेको थियो ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलोपटक भेट भएको छ ।

यसैबीच, न्यूयोर्कमा प्रधानमन्त्री ओलीले अरू पनि महत्वपूर्ण भेटवार्ता गरेका छन् । ओलीले भुटानी समकक्षी छिरिङ तोब्गेबीच पनि भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गरेका छन् ।

Published : Monday, 2024 September 23, 8:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया