सुदूरपश्चिमबाट भारतीय रेल चढेर सुगौली हुँदै आइपुगें, फेरि बस चढेर काठमाडौं गएँ : देउवा

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार पर्सामा नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सम्पूर्ण जातजाति, आदिवासी, मधेसी, महिला, थारु र मुस्लिमलगायत सबै समुदाय मिलेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘सबै जातजाति, धर्म, संस्कृतिलाई मिलाएर अघि बढ्नु आजको आवश्यकता हो । यो कामका लागि नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्दछ ।’

‘मलाई विश्वास छ । यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नेछौँ’, सभापति देउवाले भने ।

उनले पर्सा जिल्लासँग आफ्नो भावनात्मक सम्बन्ध निकै गहिरो रहेको बताएका छन् । ‘पर्सा जिल्ला एउटा यस्तो ऐतिहासिक जिल्ला हो’, देउवाले भने, ‘विक्रम संवत् २००७ को क्रान्ति यही ठाउँबाट सुरु भएको हो ।’

सभापति देउवाले भने, ‘थिरबम मल्ल शहीद भएको पनि पर्सा जिल्लामा नै हो । वास्तवमा भन्ने हो भने म सुदूरपश्चिमबाट काठमाडौं आउँदाखेरी यही जिल्ला हुँदै आएको पनि छु ।’

‘सुदूरपश्चिमबाट भारतीय रेल चढेर सुगौली हुँदै पर्सा आइपुगेको थिए’, देउवाले भने, ‘पर्सा जिल्लाबाट फेरि बस चढेर काठमाडौं गएको व्यक्ति पनि हुँ ।’

देउवाले नेपाल विद्यार्थी संघको अधिवेशन गराउन पर्सा आउँदाखेरी पर्साको जेलमा समेत बस्नुपरेको बताएका छन् ।

उनले भने, ‘नेपाल विद्यार्थी संघको अधिवेशन गराउन आउँदा जेलसमेत परेको थिए । यो जिल्ला मेरा निम्ति पनि निकै महत्वपूर्ण छ । यो जिल्लाको विकास र समृद्धिको लागि सबै साथीहरू एकताबद्ध भएर अघि बढ्नुहोला ।’

उनले भने, ‘यो जिल्लाको विकास र समृद्धिका लागि मेरोतर्फबाट गर्न सकिने सबै खालका सहयोग गर्न तयार छु ।’

कांग्रेस सभापति देउवाले पर्साका स्वर्गीय आत्मराज ओझा र दुखा सहनीको धेरै ठूलो त्याग र तपस्या रहेको बताएका छन् ।

‘उहाँहरूको योगदान र तपस्या निकै ठूलो छ’, सभापति देउवाले भने, ‘उहाँहरूकै स्मृतिमा भवन निर्माण गर्नु पक्कै पनि राम्रो कार्य हो ।’

Published : Wednesday, 2024 September 25, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया