डीआइजी कार्कीको शब्दमा ‘दशैँ रमाइलो’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीको शब्दमा ‘दशैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको छ ।

दशैँको पूर्व सन्ध्यामा डीआइजी कार्कीले दशैँ गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्वय दीपाश्री निरौला, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।

भिडियोमा करणसिंह चासिरको छायाँकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका डीआइजी कार्कीले भने, ‘विशिष्ट साँस्कृतिक महत्व बोकेको नेपालीहरूको महान चाड हो । यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दशैँ मान्न नपाउनेहरूको समग्र मनस्थिति र अवस्थालाई गीतमार्फत झल्काउन खोजिएको छ ।’

कार्कीले भने, ‘गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको साँस्कृतिक महत्वलाई उजागर गर्नेगरी बनाइएको छ ।’

यसअघि, डीआइजी कार्कीको शब्द रहेको नेपाल प्रहरीको गीत पनि सार्वजनिक भएको छ । गीत संगीतमा रुचि राख्ने डीआइजी कार्कीले साहित्यप्रति राम्रो दखल राख्छन् ।

Published : Friday, 2024 September 27, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया