कांग्रेसका सांसदहरूले १५ दिनको पारिश्रमिक राहतका लागि दिने
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्राकृतिक विपदको घडीमा राहतका लागि आफ्ना सांसदहरूको १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको छ ।
आइतबार बुढानिलकण्ठस्थित सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकले संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विपदको यस घडीमा राहत व्यवस्थापन गर्न नेपाली कांग्रेस संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का सबै माननीय सदस्यहरूको १५ (पन्ध्र) दिनको पारिश्रमिक कट्टा गरी नेपाल सरकारलाई प्रदान गर्ने निर्णय समेत गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
संसदीय दलले देशभरि क्षतिग्रस्त सडक यातायात, पुलहरु, विद्यालय भवन, स्वास्थ्य चौकी, प्रहरी चौकी लगायत अति आवश्यक पूर्वाधारहरू यथाशीघ्र पुनर्निर्माणको लागि नेपाल सरकारसँग अनुरोध गरेको छ ।
बाढीपहिरोमा परी घरबार विहीनहरूको उचित पुनर्स्थापनाको व्यवस्था यथाशीघ्र मिलाईदिन कांग्रेसले सरकारसँग अनुरोध गरेको छ ।
‘संघीय संसदका सबै माननीय सदस्यहरूलाई यस विपदको घडीमा आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आव्हान समेत गर्दछ’, कांग्रेसले भनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया