कांग्रेस नेतृत्वको बागमती सरकारले मृतकका परिवारलाई २ लाख दिने
हेटौंडा । बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल दुई लाख दिने बागमती प्रदेश सर्वदलीय बैठकले निर्णय गरेको छ ।
सोमबार जावलाखेलमा बसेको सर्वदलीय बैठकले विपदबाट प्रभावित प्रदेशभित्र बसोबास गर्ने परिवारलाई राहत तथा क्षतिपूर्ति स्वरुप प्रतिमृतक दुई लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री बहादुरसिंह लामाले बताएका छन् ।
बाढीपहिरोले आवासविहीन भएका प्रभावित परिवारलाई अस्थायी संरचना निर्माणका लागि एक लाख रुपियाँ दिने निर्णय गरिएको छ ।
बाढीपहिरोले बागमती प्रदेशका १३ जिल्लामा १ सय ३९ जनाले ज्यान गुमाएका छन् । ५५ जना अझै बेपत्ता छन् । २२६ परिवार प्रभावित हुँदा ३१ वटा घरमा पूर्ण क्षति भएको छ ।
मुख्यमन्त्री लामाले सर्वदलीय बैठकले तत्काल उद्दार, राहत र पुर्निर्माणमा जुट्ने निर्णय गरेको बताए । उनले घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, भौतिक रुपमा क्षति भएका सडक, पुल, विद्युत, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरूमार्फत वजेट व्यवस्थापन गर्ने निर्णय बताएको बताएका छन् ।
सर्वदलीय बैठकमा बागमतीका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेमकिपाका नेता सुरेन्द्रराज गोसाई, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य, कांग्रेस सचेतक लम्साल, एमालेका प्रमुख सचेतक मधुसुदन पौडेल, माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, नेकपा (एकीकृत समाजवादी)का बसन्त मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया