गृह मन्त्रालयद्वारा कार्यदलका संयोजकहरूलाई जिल्लामा खटाइयो
काठमाडौं । गृह मन्त्रालयले कार्यदलका संयोजकहरूलाई फिल्डमा पठाएको छ ।
बुधबार बिहानैदेखि कार्यदलका संयोजकहरू खटिएका छन् । बाढी पहिरो प्रभावित ८ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरिएको थियो । गृहमन्त्री रमेश लेखकको आदेशमा कार्यदल बनाइएको थियो । कार्यदलको सुझावअनुसार गृह मन्त्रालयले काम गर्नेछ ।
बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा कार्यदल बनाएर संयोजकहरू खटाइएको छ ।
काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।
बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश दिइएको छ ।
कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् ।
कार्यदललाई यही असोज २१ गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्न समयावधि दिइएको छ ।
गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दश जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ ।
प्राधिकरणका सहसचिव वसन्त अधिकारीले एक्सन टिम तयार गरी बुधबार प्रभावित पालिकाहरूमा खटाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया