संगठित अपराध अन्तर्राष्ट्रिय समस्या बनेको छ : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छिन् ।
बिहीबार कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै डा.राणाले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू–राजनीतिक अवस्था लगायतका कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारणहरू विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् ।’
‘अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्काे यस्तै समस्या बनेको छ’, डा.राणाले भनिन्, ‘एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् ।’
अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नुपरिरहेको र एसियाली क्षेत्रमा समेत बढ्दो रुपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय भएको डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘हामी अझै पनि सन् २०३० सम्म पूरा गर्नुपर्ने विश्वव्यापी दिगो विकासका लक्ष्यहरू पूरा गर्न सक्ने अवस्थामा देखिएका छैनौँ ।’
‘ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ’, उनले भनिन्, ‘त्यसैले पनि हामी एसियाली देशहरू भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।’
उनले जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदमहरू चाल्नुपर्ने बताएकी छिन् ।
जलवायु परिवर्तनको असरबाट विश्वका अतिकम विकसित, भूपरिवेष्टित, साना टापू राष्ट्रहरू लगायत बढी समस्यामा परिरहेकाले तिनको समस्या समाधानका लागि विश्वका विकसित देशहरूले ध्यान दिनुपर्ने र उनीहरूले यी देशहरूलाई गर्नुपर्ने प्रतिबद्धता बमोजिमको सहयोग उपलब्ध गराउनुपर्ने डा.राणाले बताएकी छिन् ।
यी समस्याहरू हुँदाहुँदै पनि शान्तिपूर्ण र समृद्ध एसियाका लागि ‘एसिडी भिजन २०३०’को मान्यता अनुसार अघि बढ्न एसियाली देशहरूसँग अवसर पनि रहेकाले यसका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको उनले बताएकी छिन् ।
‘एसिया प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान र नवीन प्रविधिको धनी एवं युवा तथा गतिशील जनसङ्ख्या रहेको क्षेत्र भएकाले यसले विकास र समृद्धि हासिल गर्न अप्ठेरो छैन’, डा.राणाले भनिन्, ‘सहकार्य र एकताका साथ भोलिको पुस्ताका लागि हामीले काम गर्नुपर्दछ ।’
परराष्ट्रमन्त्री डा.राणाले नेपाल सदैव बहुपक्षीयता र क्षेत्रीय सहयोगको पक्षमा रहीआएको र सन् २०१६ मा एसिडीमा आबद्ध भएदेखि नै यसका उद्देश्यहरु पूरा गर्ने पक्षमा उभिँदै आएको बताएकी छिन् ।
भोलिका दिनमा पनि ‘एसिडी भिजन २०३०’ पूरा गर्न नेपाल सदैव एसिडीसँगै रहने डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै एकता र सदभाव कायम गर्न सहयोग पुगेको बताएकी छिन् ।
‘मानव सभ्यतासँगै विकास भएको खेलकुदले मानिसहरूबीच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशहरूबीच मित्रताको वातावरणलाइ प्रवर्द्धन गर्न सहयोग पुर्याएको छ’, डा.राणाले भनेकी छिन् ।
खेलकुद कूटनीतिलाई एसिडीको तेस्रो सम्मेलनको ‘थिम’का रुपमा अघि सारेकामा यसको नेतृत्वलाई मन्त्री डा.राणाले धन्यवाद दिएकी छिन् । उनले एसिडी समूहको उन्नतिका लागि खेल कूटनीतिले आगामी दिनमा थप सहयोग पुर्याउने डा.राणाले बताएकी छिन् ।
‘खेलकुदले कुनै पनि व्यक्तिको सामाजिक पहिचानको निर्माण गर्दछ’, उनले भनिन्, ‘खेलका माध्यमबाट सामाजिक एकता र सदभाव निर्माण हुने गरेको छ ।’
उनले भनिन्, ‘एसियाली क्षेत्रको सामूहिक विकासका उद्देश्यहरू हासिल गर्नका लागि पनि खेलकुद कूटनीति अहिलेको एक सान्दर्भिक विषय हो ।’
परराष्ट्रमन्त्री डा.राणाले खेलकुद कूटनीतिलाई अगाडि बढाउन महिला र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउनुपर्ने, खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने तथा खेलाडीहरुलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्ने सुझाव दिएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले द्वन्द्व प्रभावित क्षेत्रहरूमा शान्तिका लागि सघाउन खेलकुदका कार्यक्रमहरू आयोजना गर्नुपर्ने सुझाव पनि दिएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया