वर्षको ५१ हजार भाडा, मारवाडीको कब्जामा रहेको गौशालाको धर्मशाला २१ वर्षपछि फिर्ता

काठमाडौं । मारवाडीहरूको कब्जामा रहेको पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको धर्मशाला फिर्ता भएको छ ।

गौशालामा रहेको धर्मशाला मारवाडीहरूको कब्जाबाट २१ वर्षपछि फिर्ता भएको छ ।

काठमाडौं जिल्ला अदालतले विक्रम संवत् २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको छ ।

समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौंको गौशालास्थित कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई पैसा क्षेत्रफल र सोही स्थानको कित्ता नम्बर ८५ को चार रोपनी दश आना क्षेत्रफल गरी जम्मा ९ रोपनी ९ आना जग्गा कोषमै फिर्ता भएको सदस्य सचिव डा.मिलनकुमार थापाले बताएका छन् ।

सम्झौता–पत्रमा सेवा समितिले वार्षिक रू. ५१ हजार तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र पशुपतिनाथमा छाडिएका साँढेलाई परम्पराअनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख थियो ।

मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको थियो । समितिले व्यावसायिक प्रयोजनकै लागि जर्सी गाई पालेर दूध बेच्दै आएको थियो । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटा सटर मासिक रू. ३५ हजारसम्म भाडामा लगाएको थियो ।

Published : Thursday, 2024 October 3, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया