परराष्ट्रमन्त्री डा.राणाद्वारा कतारमा उच्चस्तरीय भेटवार्ता, शुक्रबार स्वदेश फिर्ता हुने

दोहा । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारमा द्विपक्षीय भेटवार्ताहरू गरेकी छिन् ।

डा.राणा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा सहभागी भएकी छिन् । सम्मेलनको साइडलाइनमा परराष्ट्रमन्त्री डा.राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन् ।

सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरूको सहभागिता रहेको छ ।

सम्मेलनलाई सम्बोधनपछि परराष्ट्रमन्त्री डा.राणाले किर्गीज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरेकी हुन् ।

डा.राणासँग संयुक्त अरब इमिरेटस्का वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री डा.थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटहरूमा आपसी हित र चासोका विविध विषयहरूका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको डा.राणाको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा.राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएकी थिइन् ।

परराष्ट्रमन्त्री डा.राणा शुक्रबार दोहाबाट स्वदेश फर्कने कार्यक्रम छ ।

Published : Friday, 2024 October 4, 8:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया