कांग्रेस सांसद राणाद्वारा बाढी, पहिरोले गरेको क्षतिको अनुगमन, अब राहत र पुनर्निर्माणमा लाग्ने

जावलाखेल । नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले ललितपुर क्षेत्र नं. ३ मा बाढी, परिहो र डुबानबाट भएको नोक्सानीबारे स्थानीयसँग जानकारी लिएका छन् ।

शुक्रबार बाढी, पहिरो र डुबानबाट क्षति भएका स्थानमा सांसद राणा स्थलगत अनुगमनमा गएका थिए । राणाले समस्यामा परेका स्थानीयको गुनासो, पीडा र मागको सुनुवाई गरेका छन् । राणाले सरकार र मातहतसँग आवश्यक सहयोगका लागि प्रयास गर्ने बताएका छन् ।

सांसद राणा आफ्नो सचिवालयका सदस्यहरूका साथ क्षति भएको स्थानमा पुगेका थिए । राणाले नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ र कोन्जोसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामासँग पनि क्षतिबारे जानकारी लिएर उनीहरूलाई साथमा लिएर क्षति भएका स्थानको स्थलगत अवलोकन गरेका छन् ।

सांसद राणाले भने, ‘बिहानैदेखि हाम्रो मुख्य काम क्षतिको विवरण सङ्कलन गर्नु र अगाडि के गर्न सकिन्छ भन्ने योजना बनाउन थियो ।’

‘बाढीले पारेको असर हरेक ठाउँमा देखिन्थ्यो । हाम्रो जिम्मेवारी अझै ठूलो भएको महसुस भइरहेको थियो’, कांग्रेसका सांसद राणाले भनेका छन्, ‘उनीहरूसँगै हामी नख्खुडोल, रानेबु, नख्खु खोला सैंबु, झरूवाराशी, सरस्वती कुण्ड लेले, भारदेव, र नल्लुको स्थलगत अवलोकन गर्न निस्कियौं ।’

‘जति–जति हामी अगाडि बढ्यौं, बाढीले ल्याएको पीडा हाम्रो आँखाअगाडि स्पष्ट हुँदै गयो’, राणाले भने, ‘यो पीडाको बीचमा एउटा आशाको किरण देखिन्थ्यो स्थानीय युवाहरू र समाजसेवीहरूको ठूलो सहभागिता । उनीहरू दिनरात उद्धार कार्यमा लागिरहेका थिए । उनीहरूको समर्पणले हामीलाई गहिरो प्रेरणा मिल्यो ।’

सांसद राणाले भने, ‘यी सबै दृश्यहरू हेर्दा, हामीलाई यो महशुस भयो कि कठिनाइको घडीमा पनि जब सबै जना एक भएर काम गर्छन्, सम्भव के छैन र ? हामी हर्षित भयौं । काम अझै बाँकी छ । अब हाम्रो उद्देश्य यी सबै पीडितहरूलाई राहत दिनु र पुनर्निर्माणको यात्रा शुरु गर्नु हो ।’

यसअघि, सांसद राणाले दक्षिणी ललितपुरमा हेलिकप्टरबाट राहतका सामग्री लगेर वितरण गरेका छन् । बाढी, पहिरो र डुबानले दक्षिणी ललितपुरमा यातायात तोडिएको छ ।

Published : Friday, 2024 October 4, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया