राजेन्द्र लिङ्देनको दास प्रवृत्ति, आसेपासे बाहेक पार्टीमा अरु कसैलाई अट्न नदिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दास प्रवृत्तिका आसेपासे बाहेक पार्टीमा कोही अट्न नदिने तानाबाना बुनेर देशीविदेशी चाहनामा पार्टीलाई तहसनहस गर्ने सुनियोजित कदम अघि सारेका छन् ।
राप्रपाको आन्दोलन र मूल लक्ष्य प्राप्तिमै बाधा गर्ने लिङ्देनको चाहना भएको स्रोतको दावी छ । महामन्त्री धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाउनुको मकसद यही हो । ‘लिङ्देनले कहिले आन्दोलन चाहेनन्, यो कुरा पार्टीभित्र र बाहिर सबैले जानेकै कुरा हो । राणा आन्दोलनको कमाण्डर समेत भएकोले लिङ्देनले उनलाई अवरोध गरेका हुन्’, राप्रपाका एक केन्द्रीय नेताले बताए ।
‘लिङ्देनले पार्टीभित्र कसैसँग सरसल्लाह नगर्ने र बाहिरी इशारामा चल्ने गरेको राप्रपामा लामो समयदेखि असुन्तष्टि छ’, ती नेताले भने ।
स्मरण रहोस्, अध्यक्षमा विजय भएपछि सबै राजसंस्थावादीलाई एकजुट गरेर ६ महिनामा राजसंस्था पूनःस्थापना गर्ने लिङ्देनले घोषणा गरेपनि ‘गणतन्त्र सुदृढीकरण’ गर्न प्रचण्ड सरकारमा सामेल भए ।
महामन्त्री राणाको अगुवाईमा संगठन र आन्दोलनलाई एकसाथ राखेर तिहार र छठपछि आन्दोलन गर्ने तयारी छ । केन्द्रीय समितिको निर्णयबमोजिम देशभरी युवालाई विशेष प्रशिक्षण दिने र काठमाडौं केन्द्रित आन्दोलन गर्ने बाटोमा राप्रपा अग्रसर छ ।
‘पार्टीमा कुनै कार्यक्रम नदिने, पेण्डुलम बनाएर राख्ने अध्यक्षले दशैंको विदामा एकाएक संगठन विभाग प्रमुख हटाउनु शंकास्पद छ । राप्रपा भाँडमा जाओस् । आन्दोलन गर्न दिन्न भन्ने लिङ्देनको मनसाय छताछुल्ल भएको छ’, ती नेताले भने ।
‘आन्दोलन गर्ने संस्थागत निर्णयबाट पछि हट्ने गुञ्जाइसै रहन्न’, एक कार्यसम्पादन समिति सदस्यले भने ।
लिङ्देनले पछिल्लो प्रकरणमा ‘म विधान मान्दिन, विधानभन्दा माथि छु’ भन्ने प्रष्ट सन्देश दिएका छन्, निरंकुशता लादेर राप्रपामा पंचायत फर्काएका छन् ।
राप्रपा विधानको धारा २४ (झ) मा पार्टीका विभाग र समितिहरू गठन गर्ने र तिनको काम, कर्तव्य र अधिकार केन्द्रीय समितिले तोक्ने व्यवस्था छ । आमन्त्रित सदस्य मनोनयन गर्ने बाहेक अध्यक्षलाई विधानमा एकल अधिकार छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया