कांग्रेसको वातावरण विभागद्वारा पशुपति क्षेत्रमा सरसफाइ

काठमाडौं । नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पशुपति क्षेत्रमा सरसफाई गरेको छ ।

शनिबार विभागका प्रमुख कल्याण गुरुङको नेतृत्वमा पशुपति क्षेत्रअन्तर्गत गुह्वेश्वरी मन्दिर वरिपरी सरसफाइ गरिएको हो ।
पशुपति क्षेत्रको विश्वरुप, मृगस्थली, गुह्येश्वरी र वरिपरी बागमती नदीमा सफाइ गरिएको छ ।

सरसफाइ कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ, पार्टी नेता कार्यकर्ता, शुभेच्छुक एवं सरोकारवालाहरूको उपस्थिति रहेको थियो । ती क्षेत्रमा प्लाष्टिकजन्य फोहोर संकलन गर्दै सरसफाई गरिएको विभागका प्रमुख गुरुङले बताएका छन् ।

असोज ११ र १२ गतेको वर्षा र त्यसपछि आएको बाढीका कारण पशुपति क्षेत्रमा थुप्रिएको फोहर सफाइका लागि कार्यक्रम राखिएको थियो ।

विभाग प्रमुख गुरुङले सांकेतिक रूपमा सरसफाई कार्यक्रमसहित शुभेच्छुकहरूलाई प्लाष्टिकजन्य फोहोरलाई व्यवस्थति रूपमा र सही ठाउँमा विसर्जन गर्नुपर्ने भन्ने सन्देश पनि दिइएको बताए । उनले स्वास्थ्य र सरसफाई मानिसको दैनिकीसँग जोडिएकाले गम्भीर हुनुपर्ने बताएका छन् ।

कांग्रेसले सम्पदा क्षेत्रलाई सधैँ सफा राख्न भन्दै वडा तहसम्म जागरण अभियान चलाउने तयारी गरिरहेको प्रमुख गुरुङले बताएका छन् ।

मृगस्थलीमा थुप्रिएका प्लास्टिकजन्य फोहोरले वन्यजन्तुको स्वास्थ्यमा गम्भीर असर पार्ने र जथाभावी रुपमा नफाल्न पनि आग्रह गर्दै संरक्षणकर्मीहरूले सचेतना जगाएका थिए ।

प्रमुख गुरूङले बाढी, पहिरोका कारण बागमती नदी किनार र नदी किनारमा रहेका सम्पदा क्षेत्रमा जम्मा भएको फोहरलाई निरन्तर रुपमा सफाइ गर्ने बताएका छन् ।

असोज २१ गते बिहान ललितपुरको बागमती किनारस्थित वीपीनगरमा रहेको कांग्रेस केन्द्रीय कार्यालय परिसरमा सफाइ गरिने गुरुङले बताएका छन् ।

बाढी, पहिरो, डुबानबाट बागमती किनारमा जम्मा भएको फोहर सफाइ अभियान सकेपछि बागमतीको मुहानस्थित वाग्द्वारबाट नै नदी सफाइका लागि अभियान चलाउने तयारी पनि विभागले गरेको छ ।

अभियानका लागि वीपी संग्रहालय सुन्दरीजललाई विशेष जिम्मेवारी दिइएको संग्राहलयका अध्यक्ष पर्शुराम पोखरेलले बताएका छन् ।

Published : Saturday, 2024 October 5, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया