परराष्ट्रमन्त्री डा.राणाद्वारा लेबनान र इजरायलमा रहेका नेपालीबारे जानकारी माग, आवश्यक सहयोग गर्न निर्देशन
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारेमा जानकारी लिएर अपडेट हुन नेपली दूतावासहरूलाई निर्देशन दिएकी छिन् ।
आइतबार परराष्ट्र मन्त्रालयबाट मन्त्री डा.राणाले भर्चुअल बैठक गरी इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेको बताएकी छिन् ।
उनले भनिन्, ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।’
परराष्ट्रमन्त्री डा.राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका हेल्पडेस्क स्थापना गरेर समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी छिन् ।
इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै लेबनानमा रहेका नेपालीहरूलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताएका छन् ।
लेबनानमा हाल करिब १ हजार २०० नेपाली रहेका अनुमान गरिएको छ । उनीहरूमध्ये अधिकांश घरायसी काममा रहेका छन् । दूतावासले जारी गरेको सूचनाका आधारमा ३ जना मात्र सम्पर्कमा आएको लम्सालले बताएका छन् । तीन जना नेपालीहरू पनि बेरुतमा सुरक्षित रहेका छन् । हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनेर रिपोर्टिङ गरेका छैनन् ।
इजरायलका लागि नेपली कार्यबाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको बताएका छन् । श्रेष्ठले इजरायलमा रहेका करिब ४ हजार ५०० नेपाली सुरक्षित रहेको बताएका छन् ।
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाका बारेमा परराष्ट्रमन्त्री डा.राणालाई जानकारी गराएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया