काठमाडौं जोड्ने गणेशमान सिंह मार्गको स्तरोन्नति गर्न सभापति बानियाँको माग

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले गणेशमान सिंह मार्गको स्तरोन्नतिका लागि केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

आइतबार सिंहदरबारमा उपप्रधानमन्त्री समेत रहेका शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएर काठमाडौं उपत्यका र मकवानपुर जिल्लालाई जोड्ने गणेशमान सिंह मार्गलाई स्तरोन्नतिको माग गरेका हुन् ।

काठमाडौंका चन्द्रागिरी नगरपालिका हुँदै मकवानपुरको थाहा नगरपालिकासँग जोडिएको गणेशमान सिंह मार्ग लाईफलाईनको रुपमा हाल सञ्चालनमा छ । काठमाडौं उपत्यकासँग जोड्न अधिकांश सडकहरू बाढी र पहिरोले अवरुद्ध भएका बेला गणेशमान सिंह मार्गले बैकल्पिक रुपमा आवागमन सुरुचारु बनाएको छ ।

सभापति बानियाँले बुझाएको पत्रमा भनेका छन्, ‘देशको विपदमा रहेको अवस्थामा उल्लेखित मार्गले दिएको साथ समेतलाई मध्यनगर गरी सहज आवत जावत गर्ने व्यवस्थाका लागि लौह पुरुष वीर गणेशमान सिंहको नाममा रहेको उल्लेखित मार्गको स्तरोन्नतिको लागि सम्भव भएसम्म यसै आर्थिक वष २०८१/८२ र यस आर्थिक वर्षमा सम्भव नभएमा आगाम आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा नै समावेश हुने गरी २५ करोड बराबरको बजेट व्यवस्थान गरिदिनु हुन यसै पत्रमार्फत सविनय निवेदन गर्दछौं ।’

जवाफमा उपप्रधान एवम् शहरी विकासमन्त्री सिंहले गणेशमान सिंह मार्गको स्तरोन्नतिका लागि आफ्नोतर्फबाट सहयोग हुने आश्वासन दिएका छन् ।

गणेशमान सिंह मार्गको स्तरोन्नतिको माग गरेर सभापति बानियाँसँग मकवानपुर जिल्लाका नेता कार्यकर्ताहरू शहरी विकास मन्त्रालयमा आएका थिए । उनीहरूले मकवानपुर जिल्लाका ग्रामीण सडकहरूमा बाढी र पहिरोले क्षति पुगेको भन्दै मर्मत सम्भारका लागि आग्रह गरेका छन् ।

Published : Sunday, 2024 October 6, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया