आइजीपी कुँवरद्वारा प्रहरी अधिकृतहरूलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिममा सहभागीहरूलाई दीक्षान्त गरेका छन् ।

मंगलबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजीज खड्का, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विनिता बस्नेत, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. मृगेन्द्रकुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा.विजय सुनार, चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विशाल थापा र प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक आर्किटेक्ट बरूण सहनीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेका छन् ।

कुँवरले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘संकल्प’को विमोचन समेत गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध रोकथाम एवम् अनुसन्धान गर्न नेपाल प्रहरी राज्यको एक मात्र निकायको रूपमा रहेको बताए ।

विपद् व्यवस्थापन लगायत अन्य संवेदनशील र जटिलपूर्ण अवस्थामा समेत अग्रपंक्तिमा रहेर आम नागरिकमा सेवा प्रवाह गर्ने महत्वपूर्ण सुरक्षा निकायमा आवद्ध भई निर्दिशष्ट जिम्मेवारी वहन गर्न पाउनु आफैमा गौरवको विषय भएको कुँवरले बताएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको संस्थागत विकास, सुदृढिकरण र सेवा प्रवाहामा जनपद सेवा समूह जतिनै प्राविधिक समूहको पनि ठूलो योगदान रहेको बताउँदै सपोर्ट युनिटहरूको योगदानले नै अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा अमन चयन कायम गर्ने, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायत विभिन्न सेवा प्रवाहमा अतुलनीय सहयोग पुगेको बताए ।

प्रहरी सेवा अन्य सेवाभन्दा ज्यादै पृथिक र विशिष्ट रहेको चर्चा गर्दै आइजीपी कुँवरले यस सेवामा सदैव व्यावसायिक, निष्ठा, इमानदारिता अथक प्रयास, साहस र समर्पण भावको आवश्यकता रहने र यीनै गुणहरूले नै जस्तो सुकै कठिन परिस्थितिमा पनि आफूलाई समर्पित हुन हौसला प्रदान गर्ने बताएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणको समापन सँगै राष्ट्र र नागरिकको सेवामा प्रतिवद्ध भएर लागिपर्ने नयाँ यात्राको शुरूवात भएको बताए । उनले तालिमको दौरान प्राप्त भएको आन्तरिक र बाह्य प्रशिक्षणले प्रशिक्षार्थीहरूलाई सबल र सक्षम जनशक्तिको रूपमा परिणत गराउँदै आगामी दिनमा कार्यक्षेत्रमा देखापर्ने नविनतम् चुनौतिहरूको पहिचान र निस्तेज गर्नमा समेत सहयोग शिद्ध हुने अपेक्षा लिएको बताएका छन् ।

तालिमबाट आर्जन गरेको ज्ञान, सीप र कौशललाई सम्पूर्ण अधिकृतहरूले आगामी दिनमा उर्जाशील भई रचनात्मक ढंगले राष्ट्र र नागरिकको सेवामा समर्पित भई उत्कृष्ट कार्यसम्पादन गर्न समेत कुँवरले निर्देशन दिएका छन् ।

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् ।

तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गिरीले जेठ २९ गतेबाट संचालित ९५ दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २७ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक १ जना गरी कुल ३९ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिएका छन् ।

Published : Tuesday, 2024 October 8, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया