दशैँ हाम्रो धार्मिक र सांस्कृतिक पर्व : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैँ २०८१ को अवसरमा स्वदेशरलाई शुभकामना दिएका छन् ।
बिहीबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर स्वदेश र विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएका हुन् । उनले दशैँलाई हर्सोल्लासका साथ मनाउन पनि आग्रह गरेका छन् ।
उनले भने, ‘बडा दशैं २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।’
‘दशैंको पूर्वसन्ध्यामा बाढी पहिरोको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको छ । हजारौं नागरिक घरवारविहीन हुन पुगेका छन्’, देउवाले भने, ‘मुलुकका अरबौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन् । दशैंमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँ–घर फर्कन कठीन अवस्था सिर्जना भएको छ ।’
सभापति देउवाले भने, ‘हजारौं नागरिकका करोडौंका जग्गाजमीन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन् । यो विपत्तिका समयमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।’
उनले भने, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा निहित बन्धुत्व भावले यी विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ ।’
‘विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । हरेक बडा दशैंले समुदाय, संस्था, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउंदै आएको छ’, पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने ।
‘दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ’, देउवाले भने ।
‘सदा झैं यसपटकको बडा दशैंले समुदाय, संस्थाहरू, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंन हामीलाई प्रेरित गर्न सकोस्’, सभापति देउवाले भने ।
‘बडा दशैंको यो पुनीत अवसरमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया