जग्गा घोटालामा थुनिएर निस्किएका विवादित व्यवसायीले एमालेको केन्द्रीय कार्यालय बनाइदिने, जग्गा दिए

काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा काण्डका विवादित व्यवसायी मीनबहादुर गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिएर भवन निर्माण गरिदिने भएका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सबै विपदको सामना गर्ने भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा एमालेलाई केन्द्रीय कार्यालय निर्माण गरेर दिनका लागि व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा दिएका छन् । भवन निर्माण पनि आफूले नै गरेर दिने मीनबहादुर गुरुङले बताएका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भवन निर्माणका लागि शिलान्यास गरेपछि मीनबहादुर गुरुङले एमाले मुख्यालय भवन अत्याधुनिक र सुन्दर रूपमा निर्माण गरेर दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

विवादित व्यवसायी मीनबहादुर गुरुङले आफूलाई विश्वास गरेर एमालेले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने अवसर दिएको भन्दै धन्यवाद दिएका छन् ।

आफू एमालेनिकट रहेकाले पनि सो भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुसी लागेको मीनबहादुर गुरुङले बताएका छन् ।

व्यवसायी मीनबहादुर गुरुङले एमाले केन्द्रीय कार्यालय भवन ९ रेक्टर स्केलको भूकम्पलाई पनि धान्ने गरी निर्माण गरेर २०८२ सालको दशैँको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘एमालेले विश्वास गरेर हामीलाई जुन मौका दिनुभयो त्यसका लागि हामी हृदयदेखि नै धेरैधेरै धन्यवाद दिन चाहन्छौँ’, मीनबहादुर गुरुङले भने, ‘एउटा व्यवसायीको रुपमा आफ्नो जिम्मेवारी पूरा गरेको छुँ, त्यसमा अन्यथा केही पनि छैन ।’

‘मैले आफ्नो कर्तव्य पूरा गरेको छुभन्ने मलाई लागेको छ’, मीनबहादुर गुरुङले भने, ‘यो भवन ९ रेक्टरसम्मको भूकम्पलाई धान्नेगरी निर्माण हुनेछ । सबै विपदलाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाई दिनेछौँ भन्ने प्रतिवद्धता जाहेर गर्दछौँ ।’

उनले भने, ‘यो भवन अर्को सालको घटस्थापनाको दिन उद्घाटन हुन्छ । त्यो दिनका लागि म अहिले नै सबैलाई निम्ता गर्न चाहन्छु ।’

मीनबहादुर गुरुङले आफूले व्यवसायीको रुपमा अन्य राजनीतिक दल र समाजको अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए ।

२०७२ सालको भूकम्पपछि काठमाडौं महानगरपालिका–१४ मदननगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय भत्किएको थियो । त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा एमालेको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको छ । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढी पस्ने गरेको छ ।

एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुरमा पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।

शिलान्यास कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेतारकार्यकर्ताको उपस्थिति रहेको छ ।

एमालेले पार्टी सदस्यहरूको सदस्यता शूल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने बताएको छ ।

बालुवाटारको ललितानिवासको जग्गा काण्डमा विवादित व्यवसायी मीनबहादुर गुरुङ थुनामा परेर बाहिर निस्किएका हुन् । मीनबहादुर गुरुङ बेलाबेला भाटभटेनी सुपर मार्केटको कर घोटाला काण्डमा पनि विवादमा पर्दै आएका छन् ।

Published : Friday, 2024 October 11, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया