प्रहरी हवल्दारलाई दम्लाेले बाँधेर प्रहरीलाई नै बुझाए

पञ्चेश्वर । बैतडीको पञ्चेश्वर गाउँपालिका–२ स्थित डिम्बर गाउँकी १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् ।

किशोरीलाई बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरघाटका निमित्त इन्चार्ज समेत रहेका हवल्दार कृष्णराज जोशीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

शुक्रबार बिहान करिब साढे ४ बजेको समयमा पानी भर्न जान्छु भन्दै घरबाट गएकी किशोरी अबेरसम्म सम्पर्कमा नआएपछि खोजी भएको थियो । किशोरीले पानी भर्न लगेको ग्यालेन प्रहरी चौकी नजिकै फेला परेको थियो ।

प्रहरी हवल्दार जोशीलाई भाग्दै गरेको अवस्थामा भेटेपछि स्थानीयहरूले महाकाली पारीको भरतपट्टीबाट नियन्त्रणमा लिएर दाम्लोले बाँधेका थिए । शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाको नेतृत्वको प्रहरी पटोलीले नियन्त्रणमा लिएर जिल्ला पुर्‍याएको थियो ।

प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक ढुंगानाले बताए । किशोरीसँग चिनजान र बोलचाल हुने गरेको भएपनि बेपत्ताको विषयमा आफूलाई जानकारी नभएको बयान दिएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

Published : Saturday, 2024 October 12, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया