बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं । बेलायतमा सञ्चालन भएको एक्सरसाईज क्याम्ब्रिज पेट्रोल २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक प्राप्त भएको छ ।

वेल्स, ब्रेकनमा आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो ।

सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।

दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइको तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।

यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७ र २०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा उपरथी दीपककुमार बानियाँ सम्मानित अतिथिको रुपमा सहभागी रहेका थिए ।

Published : Saturday, 2024 October 12, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया