कांग्रेससहितका दलहरुले चियापान र शुभकामनाका कार्यक्रमहरु रोके

काठमाडौं । नेपाली कांग्रेससहितका राजनीतिक दलहरुले दशैं, तिहार, छठ र नेपाल संबत लगायतका अवसरमा आयोजना गर्दै आएका चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमहरु स्थगित गरेका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा (एकीकृत समाजवादी)ले प्राकृतिक विपत्तिका कारण ठूलो धनजनको क्षति भएकाले शुभकामना कार्यक्रम नगर्ने निर्णय गरेका हुन् ।

राजनीतिक जमघटको रुपमा लिइने चियापान र शुभकामना आदान कार्यक्रममा सत्तापक्ष र प्रमुख प्रतिपक्षले एउटै थलोमा अन्तकरक्रिया गर्ने अवसरको रुपमा दलहरुले दिंदै आएका छन् ।

दशैँको मुखमा आएको बाढी, पहिरोमा परी एक सय ५० भन्दा बढीको मृत्यु र ठूलो भौतिक क्षति भएकाले दलहरुले विगतादेखि गर्दै आएको चियापान कार्यक्रम नगर्ने निर्णय गरेका हुन् ।

विगतमा केन्द्रदेखि जिल्ला तहसम्म तामझामका साथ शुभकामना कार्यक्रम गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेको थियो । यसवर्ष जिल्ला र स्थानीय तहमा त्यस्ता औपचारिक कार्यक्रम प्रायः ठप्प छन् ।

कांग्रेसले कात्तिक १ मा शुक्ल पूर्णिमा दिन चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रमको तयारी गरे पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरेको छ । हरेक वर्ष गर्दै आएको कार्यक्रम यसवर्ष विपत्तिका कारण स्थगित गरेको कांग्रेसले जनाएको छ ।

एमालेले तल्लो समितिलाई सर्कुलर गर्दै औपचारिक चियापान तथा शुभकामना कार्यक्रम नगर्न निर्देशन गरेको छ ।

माओवादीले पनि तल्लो समितिलाई सर्कुलर गरी कुनै पनि शुभकामना कार्यक्रम नगर्न निर्देशन गरिसकेको छ । उसले पीडितको दुःखमा सामेल भएर राहत, अस्थायी पुनर्बासमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दसैंलगायत पर्वमा गर्ने तयारी गरेको चियापान तथा शुभकामना कार्यक्रम स्थगित गरेको जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विगतमा गर्दै आएको शुभकामना आदानप्रदा कार्यक्रम नगर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले पनि प्राकृतिक विपत्तिका कारण दसैं, तिहारलगायत पर्वमा हुने शुभकामना कार्यक्रम नगर्ने भएको छ ।

Published : Sunday, 2024 October 13, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया