संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् ।

मंगलबार ६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा उनले प्रहरी संगठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएको छ,’ उनले भने

उनले भने, ‘गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभा समक्ष पेश गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरे पश्चात नेपाल प्रहरीको बृहत्तर हित र वर्षौं वर्ष देखिका हाम्रा अपेक्षाहरू पूरा हुने विश्वास मैले राखेको छु ।’

लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गरेका र घाइते भएका प्रहरी कर्मचारीहरूको योगदानको उच्च मूल्याङ्कन गर्न हुने बताए । ‘वर्तमान सरकार गठन भएलगत्तै संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई पूर्णता दिइएको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानविन सम्बन्धी कानून बनेको छ,’ मन्त्री लेखकले भने ।

`यसले द्वन्द्वको बेलामा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिहरुको परिवारलाई पनि पीडित सरह परिपूर्ण दिने व्यवस्था गरिएको छ । द्वन्द्वको बेलामा घाइते तथा अपाङ्ग हुनु भएका सुरक्षा निकायका व्यक्तिलाई पीडित सरह व्यवहार गरिने व्यवस्था गरिएको छ’, लेखकले भने ।

Published : Tuesday, 2024 October 15, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया