विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका हुँदाहुँदै पनि जलवायु प्रकोपको सिकार हुनु नेपालका लागि घोर अन्यायको विषय : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका हुँदाहुँदै पनि जलवायु प्रकोपको सिकार हुनु नेपालका लागि घोर अन्यायको विषय रहेको बताएकी छिन् ।

वैश्विक जलवायु कार्यका लागि सगरमाथाको आह्वान शीर्षकमा बिहीबार काठमाडौंमा आयोजित ‘क्लाइमेट कन्क्लेभ–२०२४’ लाई सम्बाेधन गर्दै डा.राणाले भनिन्, ‘विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका हुँदाहुँदै पनि जलवायु प्रकोपको सिकार हुनु नेपाल र नेपालजस्ता राष्ट्रहरूका लागि घोर अन्याय हो ।’

अघिल्लो वर्ष सन् २०२३ अक्टोबरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस नेपाल भ्रमणमा आउँदा हिमालयमा जलवायु संकटको भयावह प्रभाव देखेर छक्क परेको परराष्ट्रमन्त्री डा.राणाले बताएकि छिन् ।

‘सगरमाथा र अन्नपूर्ण क्षेत्रको भ्रमणपछि उहाँले पहाडको जीवन र पारिस्थितिक प्रणालीमा उत्पन्न संकटको गम्भीर वास्तविकता देखेँ भन्नुभएको थियो,’ डा.राणाले भनिन्, ‘अन्तर्राष्ट्रिय समुदायलाई तत्कालै गरेको अपीललाई सम्झन्छु र त्यसैमा म पनि पुनः त्यसैमा जोड दिन्छु।’

विकसित देशका क्रियाकलापले जलवायु संकटलाई निम्त्याएको बताउँदै मन्त्री डा.राणाले त्यसको असर नेपालजस्ता कम कार्बन उत्सर्जन गर्ने देशले खेप्नुपरिरहेको बताइन् । ‘उनीहरूले विकासशील देशहरूलाई अनुकूलन र सहजता निर्माणका लागि पर्याप्त स्रोत, प्रविधि र अन्य सहायताहरू उपलब्ध गराउनु पर्छ,’ उनले भनिन् । यद्यपि ती देशहरूले बाँडेका वाचा भने निकै लामा लामा रहेको उनले बताइन् । विकासोन्मुख देशमा अनुकूलन र सहजता निर्माण गर्न पर्याप्त अनुदानमा आधारित र सहुलियतपूर्ण वित्तीय स्रोत दिनुपर्ने उनले बताइन् ।

‘कोप २८ बाट सञ्चालित हानी नोक्सानी कोषलगायतका सबै जलवायु कोष र सुविधाहरूमा केन्द्रीकृत गरेर ती स्रोतहरू विकासोन्मुख देशको सहज पहुँचमा हुनुपर्छ । बाकुमा हुने आगामी कोप २९ ले स्टक लिने र जलवायु अजेन्डाका सबै ट्र्याकहरूमा ठोस प्रगति गर्ने अवसर हुनुपर्छ,’ डा.राणाले भनिन् ।

बाकुमा हुने कोप २९ मा जलवायु जोखिममा रहेका देश र पर्वतीय देशले जलवायु वित्तमा सजिलो, सहज, अनुमानयोग्य र पर्याप्त पहुँचको आवश्यकतालाई जोड दिने उनले बताइन् ।

परराष्ट्रमन्त्री डा.राणाले विश्वका उत्तरी देश र दक्षिणी देशको सहकार्यको आवश्यकतामा आफू सहमत भएको बताउँदै उत्तरको उदार स्रोत र प्राविधिक सहयोग बिना दक्षिणका देशहरूले यो संकटको सामना गर्न नसक्ने बताइन् ।

Published : Thursday, 2024 October 17, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया