गृहमन्त्री लेखकद्वारा ई–चलानको शुभारम्भ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोहबीच ई–चलान (डिजिटल चिट)को शुभारम्भ गरेका छन् ।
उनले ई–चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गरेका छन् । गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको बताए । उनले डिजिटल चिट प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने बताएका छन् ।
ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि लेखकले शुभकामना दिएका छन् ।
सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडि बढेको गृहमन्त्री लेखकले बताएका छन् ।
गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी भएको बताएका छन् । उनले सबै प्रहरी कर्मचारीहरूले थप संयमित एवम् इमानदार भएर नागरिकलाई सेवा प्रदान गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।
सवारी दुर्घटना ठूलो चुनौतिको रूपमा देखा परेको बताउँदै लखकले त्यसको न्यूनीकरण गर्न सरोकारवाला सबै निकायहरूले आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गरेर कार्यान्वयन गर्नुपर्ने बताए ।
दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना लगायतका विषयमा अझ बढि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा लेखकले बताएका छन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासो रहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने हेतुले यस प्रविधिको शुभारम्भ भएको बताए ।
त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिवद्ध रहने आइजीपी कुँवरले बताएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी अन्तर्गत रहेको विशिष्टिकृत कार्य रहेको उल्लेख गर्दै यसको समयानुकूल आधुनिकीकरण र परिमार्जनमा नेपाल प्रहरीले आफ्नो स्रोत साधनले भ्याएसम्म आफ्ना प्रयासहरू निरन्तर राखेको बताए ।
ई–चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारवाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको उल्लेख गर्दै कुँवरले यो सेवा कम झन्झटिलो र गुनासो रहित हुने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया