आफ्नै आग्रहमा सडक मार्गबाट जाँदा लामिछानेको योजना फेल, अनि चित खाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको चाहना र इच्छा बमोजिम प्रहरीले सडकमार्फत हुँदै पोखरा लागेको खुलासा भएको छ ।

पूर्वगृहमन्त्री लामिछानेकै आग्रहमा प्रहरीले हवाई मार्ग छाडेर सडक मार्गबाट पोखरा पुर्‍याएको थियो । सडक मार्गबाट पोखरा जाँदा आफूलाई बचाउन हजारौँ जनता सडकमा आउनेछन् र प्रहरीबाट छुटाउनेछन् भन्ने ठूलो आशासहितको भ्रम थियो । लामिछानेले सोँचेअनुसार रास्वपाका कार्यकर्ता भनेअनुसार सडकमा आएनन् । उनको निर्वाचन क्षेत्र चितवनको मुग्लिनमा भने करीव २ सय कार्यकर्ता जम्मा भएका थिए । काण्डै काण्डमा परेका लामिछानेलाई बचाउन कोही पनि सडकमा आएका छैनन् । सहकारी ठगलाई बचाउन आउने पनि सम्भावना थिएन ।

संसदीय समितिबाट सहकारी ठगी काण्डमा कारबाही सिफारिस भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले रास्वपाका सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । शनिबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन हवाई मार्ग हुँदै पोखरा लैजाने प्रहरीको तयारी थियो । लामिछानेले नमानेपछि सडक मार्ग हुँदै पोखरा लगिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी उच्च स्रोतले भन्यो, ‘पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री भइसकेको तथा रास्वपाका सभापति रवि लामिछानेलाई सुरक्षा सम्वेदनशीलताका कारण हवाई मार्गमार्फत लैजाने तयारी थियो । लामिछानेकै आग्रहमा सडक मार्गबाट पोखरा लगिएको हो ।’

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पाउनेवित्तिकै रास्वपाका सभापति लामिछानेले तत्काल भिडियो सन्देश बनाएर ठीक पारेका थिए । पक्राउ पर्नेवित्तिकै उनको सचिवालयले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेको थियो । सहकारीको करोडौं रकम ठगका अभियुक्त लामिछानेले आफूलाई बचाउन अपील गरेका थिए । लामिछानेको अपीलअनुसार ठाउँ ठाउँमा रास्वपाका कार्यकर्ता जम्मा भएर प्रहरीबाट छुटाउनेछन् भन्ने जुन अपेक्षा थियो त्यो तुहिएको छ । लामिछानेले सोँचेअनुसार कुनै पनि कार्यकर्ता सडकमा आएनन् । सोँचेअनुसार कार्यकर्ता र समर्थक सडकमा नआएपछि रास्वपाका सबै सांसद, केन्द्रीय सदस्यहरू पोखरामा जम्मा भएर सहकारी ठगका आरोपी लामिछानेलाई बचाउन नाराबाजी गरेका छन् ।

पोखरामा अर्को दिन आइतबार केही कार्यकर्ता जम्मा भएका थिए । लामिछानेका केही कार्यकर्ता र सहकारीपीडितहरू दुबै पक्षको प्रदर्शन समेत भएको छ । दुबै पक्षको झडप हुने सम्भावना देखेर प्रहरीले पोखरामा उच्च सतर्कता अपनाएको छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले प्रहरीलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । कास्कीमा लामिछानेको बयान लिएर सकिएपछि पुनः रुपन्देही र चितवनमा लगेर बयान लिइनेछ ।

गोर्खा मिडियो नेटवर्क प्रालिकामार्फत ग्लोक्सी फोरके टेलिभिजन सञ्चालन गर्न गितेन्द्रबाबु राई (जीबी)सहितको समूहसँग मिलेर सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोगमा सभापति लामिछानेसहितका व्यक्तिमाथि संगठित अपराधको मुद्दा चलाउने तयारी भएको छ ।

Published : Monday, 2024 October 21, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया